
काठमाडौं — बेलायतमा १७ महिनाकी बालिका प्ले सेन्टरमा दुर्घटनामा परेकी छन् ।
बालिकाकी आमाले आफ्नी छोरीमाथि भएको भयानक दुर्घटनाको कथा सामाजिक सञ्जालमा लेखिन् । उनी छोरीलाई लिएर सफ्ट प्ले सेन्टरमा खेलाउन गएकी थिइन् तर एकछिनपछि उनकी छोरी नीलो भइन् । छोरीको अनुहार हेरेर उनी तीनछक्क परिन् ।
बालिकाको अनुहारमा ठाउँ ठाउँमा चोट लागेको थियो र उनी लगातार रोइरहेकी थिइन् । बच्चाहरूलाई आमाबुवाले स्याहार्नुपर्ने भन्दै प्ले सेन्टर जिम्मेवारीबाट पन्छिएको छ ।
वेस्ट योर्कशायरको लीड्समा बस्ने ३३ वर्षीया बेकी आफ्ना तीन सन्तान लिएर सीक्रफ्टमा रहेको एउटा प्ले सेन्टरमा पुगिन् । सत्र महिनाकी विल्लो आफ्ना ६ वर्षे दाइ टकर र तीन वर्षीया दिदी अरोरासँग खेल्न थालिन् ।
केही समयपछि नै एक महिला चिच्याउन थालिन्, ‘यो बच्चा कसको हो ?’ त्यसपछि उनले देखिन्, एकजना केटा विल्लोमाथि चढेको थियो र उसको गला समातिरहेको थियो ।
केटोको आक्रमणमा परी विल्लो नीलो भएकी थिइन् र उनको सास पनि चलिरहेको थिएन । उता केटोको अनुहारमा रगत लागेको थियो र ऊ उभिएर मुस्काइरहेको थियो ।
केटोले विल्लोलाई १७ चोटि टोकेको थियो ।
छोरीलाई लिएर बेकी तत्कालै अस्पताल दौडिइन् । त्यहाँ शरीरमा टोकिएको भागको उपचार गरियो र हेपाटाइटिस बीको इन्जेक्सन दियो । अब उनले छालारोग विशेषज्ञलाई भेट्नेछिन् ।
केटोले विल्लोको अनुहारमा चार, औंलामा दुई र ढाडमा तीन ठाउँमा टोकेको थियो । कान, काँध, हात र गोडामा टोकेको खत थियो । टाउकोमा धेरै चोट थिए ।
एजेन्सी