
जनकपुरधाम – छठको अवसरमा फलफूलको बिक्री बढेसँगै व्यवसायीहरूले केराको भाउ अप्रत्यासित रूपमा बढाएका छन् । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवकै गृहजिल्ला धनुषाको जनकपुर बजारमा अहिले केराको मूल्य आश्चर्यजनक ढंगले बढेको छ ।
छठ पर्वमा केरा मुख्य प्रसादको रूपमा प्रत्येक ब्रतालुले किन्नै पर्ने बाध्यतालाई बुझेर जनकपुरको फलफूल व्यवसायी संघले कयौं गुणा बढी तोकेर केरा बिक्री गरिरहेका छन् । कुनैवर्ष ५० देखि १ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको प्रतिघरी केरा अहिले जनकपुर बजारमा १ हजार रुपैयाँ प्रतिघरीसम्ममा बिक्री भइरहेको छ ।
घरीको साइजअनुसार केराको संख्या घटीबढी हुन्छ । कुनै घरीमा ५० त कुनैमा सयदेखि २ सयसम्म केरा हुने गर्छन् ।
छठ पर्वमा अन्य प्रसाद ठेकुवा, भुसुवाजस्तै फलफूलमा केरा अनिवार्य रूपले अर्घको रूपमा सूर्य देवतालाई चढाउनु पर्छ । अधिकांश ब्रतालुले केराको घरी नै चढाउने गर्छन् । सानो होस् वा ठूलो प्रायःजसोले घरी नै किन्नु पर्ने हुन्छ । टुक्रामा वा टुटेका केरा प्रसादको रूपमा चढाउने गरिँदैन । खास गरेर जसको पूरा छठ हुन्छ, त्यसले अनिवार्य रूपले घरी नै प्रसादको रूपमा चढाउनुपर्ने हुन्छ ।
जसको छठ पूर्ण हुँदैन उनले केराको हाता पनि चढाउने गर्छन् । एउटा हातामा एक दर्जनदेखि ३ दर्जनसम्म केरा हुने गर्छ ।

जनकपुर फलफूल तथा तरकारी व्यवसायी संघका महासचिव रवीन्द्रकुमार साह पनि यसपटक छठमा केराको बजार मूल्य अत्यधिक बढेको स्वीकार्छन् । ‘बजारमा जति केराको माग छ सो अनुसार आपूर्ति हुन नसकेका कारण बजार हाइक पनि हुनसक्ने कुराको प्रबल सम्भावना छ,’ साहले लोकान्तरसँग भने ।
‘छठ पर्वकै लागि जनकपुर लगायत धनुषाको अन्य मन्डीसहित ५० देखि ६० ट्रक केराको माग रहने गरेको छ, तर यसवर्ष छठका लागि माग अनुसारको आपूर्ति नभएका कारण केराको मूल्य धेरै नै बढेको हो,’ उनले भने । १ ट्रकमा १२ सयदेखि १५ सय घरीसम्म केरा अटाउने गर्छ ।
सप्तरीको भारदह, सुनसरीको इनर्वा, झापाको शनिश्चरे, चितवनलगायतका ठाउँमा उत्पादन हुने केरा दिपावली अघि नै सकिएका कारण यसपटक भारतको आसामबाट केरा आयात गर्नु परेका कारण पनि महंगो भएको साहको जिकीर छ ।
भारतमै पनि केरा महंगो भएको, ट्रकमार्फत् आयात गर्दा २० प्रतिशत जति नाश हुने, यातयात भाडा लगायत सबै कुरा थप्नु परेका कारण पनि केरा महंगो परेको उनले बताए ।
‘म आफैं कम्तिमा दुईट्रक केरा प्रत्येक छठमा किन्ने गर्थें, तर यसपटक महंगो भएका कारण आधा ट्रक केरा मात्र किनेको छु,’ साहले भने, ‘केरा त्यसै पनि कच्चा सामान भएका कारण नाश हुने सम्भावना हुन्छ । भारतमै पनि महंगो भएका कारण जनकपुरका व्यवसायीले आवश्यकता अनुसार केरा किन्ने हिम्मत नै छैन ।’

जनकपुर बजारमा दुई प्रजातिका केरा आउने गर्छन् । हरियो लामो ‘सिंगापुरी गोपाल केरा’ नेपालको भारदह, इनर्वाको बगानमा उत्पादन हुने गर्छ । त्यसैगरी ‘चम्पा मालभोग’ पहेलो केरा भारतको आसाममा उत्पादित केरा जनकपुरमा आयात हुने गरेको छ । यस पटक नेपालमा उत्पादित केरा बगानमै सकिएको व्यवसायीले बताएका छन् । झापा र चितवनमा उत्पादन हुने केरा त्यहीँ महंगोमा बिक्री हुने र त्यहाँकै बजारमा माग अनुसार आपूर्ति हुन नसकेका कारण भारतको चम्पा मालभोग केरा ल्याइएको उनले बताए ।
विगत १० वर्षदेखि भारतको आसाम, नागाल्याण्ड लगायतका ठाउँबाट केरा किन्ने गरिएको थिएन, तर यसवर्ष मात्रै किन्नुपरेको उनले बताए ।
‘हामीले कृत्रिम अभाव सिर्जना गरेका छैनौं । केराको उत्पादन नै धेरै कम भएको र उत्पादित केरा पनि सक्किएकाले केराको मूल्य महंगो भएको हो,’ साहले भने ।
जतिसुकै महंगो भएपनि ऋण काढेर पनि केरा छठका ब्रतालुले किन्ने हुनाले फलफूल व्यवसायीले केराको मूल्य आकाश छुवाएको छ, एक व्यापारी नै बताउँछन् ।
जनकपुरको बजारमा यदि ग्रामिण क्षेत्रको ग्राहकको भीड बढेन भने केराको मूल्य सस्तो हुन्छ नै, तर त्यसका लागि स्थानीय प्रशासनले बजारको अनुगमन गर्नु पर्ने हुन्छ, नाम नबताउने शर्तमा ती व्यवसायीले भने ।
हुन त जनकपुरको थोक बजारको रूपमा रहेको उक्त मण्डीमा भित्र २२ र बाहिर ३ गरेर कुल २५ जना व्यवसायी छन् र ३ सयसम्म खुद्रा व्यापारी रहेका छन् । खुद्रा व्यापारीले मनमौजी मूल्य निर्धारण गरेर बिक्री गर्ने गर्छन् । गएको दीपावलीमा त्यस मण्डीमा ५० रुपैयाँ दर्जन केरा बिक्री भएको थियो तर ठेला र पसल सञ्चालन गरेर बिक्री गर्ने खुद्रा व्यवसायीले ८० रुपैयाँ दर्जनसम्मको बिक्री गरेका थिए ।
त्यसैगरी यो छठमा पनि कालोबजारी, कृत्रिम अभाव देखाएर मूल्य वृद्धि गर्दै मनमौजी गरिरहेको छ, एक उपभोक्ताले भने । तिहारमा पनि केरा व्यवसायीले बजारमा हाइक गरेका थिए ।
‘भारतबाट केरा आयात गर्दा स्थानीय ट्राफिकदेखि प्रहरी प्रशासनसम्म व्यवसायीले घुस दिने गरेका कारण स्थानीय प्रशासनले पनि बजार अनुगमन गर्दैन,’ उपभोक्ताको आरोप छ । संघीय सरकारमा आपूर्ति मन्त्री मात्रिका यादव समेत धनुषा जिल्लाकै भएपनि धनुषाको बजारमा गरिएको मुल्य वृद्धिप्रति कारबाही नगरिँदा स्थानीय उपभोक्ता मर्कामा परेका छन् ।
छठमा मात्रै जनकपुरमा डेढ करोड रुपैयाँसम्म केराको कारोबार हुने र समग्र धनुषा जिल्लामा ३ करोडसम्मको कारोबार हुने अनुमान गरिएको छ ।