
काठमाडौं– दुर्घटना, फलाम या खिया लागेको सामानले चोट लाग्दा तथा जनावरले टोकेमा टिटानस ब्याक्टेरिया मार्न २४ घण्टाभित्रै लगाउनुपर्ने टिटानसविरुद्धको भ्याक्सिन हाल देशभरि नै अभाव भएको छ । करीब छ महीना बित्दा पनि भ्याक्सिनको सहज आपूर्ति हुन सकेको छैन ।
भारतको आन्तरिक समस्याका कारण यसको आयात हुन नसकेको औषधि व्यवस्था विभागले जनाएको छ । टिटानस रोगविरुद्धको भ्याक्सिन (टिटी खोप)को वैकल्पिक व्यवस्था नहुँदा सयौैँ बिरामी प्रभावित हुन पुगेका छन् । सरकारी तवरबाट अन्य धेरै खोपको निःशुल्क व्यवस्था भए पनि टिटीको भने भ्याक्सिन आपूर्तिको व्यवस्था छैन ।
अहिले नेपालमा मागको १० प्रतिशत पनि भ्याक्सिन आयात हुन सकेको छैन । औषधि व्यवस्था विभागसँग खपतको यकिन तथ्याङ्क नरहेपछि निजी वितरकका अनुसार मासिक करीब दुई लाख ४० हजार एम्पुल भ्याक्सिन खपत हुने अनुमान छ ।
औषधि व्यवस्था विभागका अनुसार करीब छ महीनादेखि नै टिटी खोपको अभाव छ । भारतबाट नेपालमा भ्याक्सिन निर्यात गर्ने कम्पनी र भारत सरकारसँगको मूल्य निर्धारणमा भएको समस्याले नेपालमा भ्याक्सिन अभाव भएको हो ।