काठमाडौं — बलिउडका महान् अभिनेता दिलीप कुमारको स्वास्थ्य ठीक छैन । आगामी डिसेम्बर ११ मा ९६ वर्ष पुग्ने दिलीप मानिसलाई राम्ररी चिन्दैनन् र सुन्न तथा बुझ्न छोडिसके ।
चिकित्सकहरूको एक टोली उनको स्याहारमा व्यस्त छ ।
दिलीप कुमारका विषयमा गोविन्दाले भावुक सन्देश दिएका छन् । उनले भने, ‘दिलीप साहबको दीर्घायु र स्वास्थ्यका लागि म ईश्वरसँग सदैव प्रार्थना गर्छु । मलाई दिलीप कुमारको अपार प्रेम र आशीर्वाद छ । म अहिलेसम्म पनि उहाँप्रति आभारी छु ।’
गोविन्दा भन्छन्, ‘मैले एकैचोटि ७५ फिल्म साइन गरेको थिएँ । तर दिलीप साहबले मलाई २५ वटा फिल्म छुटाउनुभयो । मैले एकैचोटि यति धेरै फिल्म साइन गरेको थाहा पाएपछि उहाँले मलाई २५ वटा जति चाहिँ छोडिदेऊ भन्नुभयो । मैले उहाँको कुरा तुरुन्तै मानें । फिल्म साइन गर्दा पाएको रकम सबै मैले खर्च गरिसकेको थिएँ । तर मैले उधारो लिएर २५ जना निर्माताको रकम फिर्ता गरें ।’
आफ्नो फिल्म छनोट प्रक्रिया र व्यवहारमा परिवर्तनको श्रेय दिलीप कुमारलाई दिँदै गोविन्दाले भने, ‘दिलीप साहबकै सल्लाहमा मैले कमेडी फिल्म खेलेको हुँ । उहाँले मेरो फिल्मका गम्भीर पात्र हेरेर सल्लाह दिँदै तिमी कमेडी फिल्महरू खेल, आनन्दित रहन्छौं, स्वस्थ हुन्छौ भन्नुभयो । उहाँ आफैंले धेरै एक्सन फिल्म खेलेपछि समस्यामा पर्नुभएको थियो । त्यसैले उहाँले मलाई एक्सन फिल्म नखेल्न सुझाव दिनुभयो । मैले दिलीप साहबलाई भेटेर नै सोमत राख्न सिकें । आफ्नो आमा र गुरुपछि मेरो जीवनमा दिलीप साहबकै महत्त्वपूर्ण स्थान छ ।’
एजेन्सी