काठमाडौं — अफगानिस्तानमा तालिबान आतंकवादीहरूले अल्पसंख्यक हाजरा समुदायको बाहुल्य रहेको एक जिल्लामा आइतवार आक्रमण चर्काएका छन् ।
दक्षिणपूर्वी प्रान्त गजनीको जगहोरी जिल्लामा एक झडपमा आतंकवादीहरूले १५ नागरिक र अफगानिस्तानको विशेष बलका १० सदस्यको हत्या गरिदिए ।
प्रान्तीय प्रहरी प्रवक्ता अहमद खान सिरातले यसको जानकारी दिएका हुन् । सिरातका अनुसार, विशेष बलका अन्य ६ सदस्य र आठ नागरिक घाइते भएका छन् ।
तालिबान प्रवक्ता जबीउल्ला मुजाहिदले एक ह्वाट्सएप सन्देशमा २२ अफगान कमान्डो मारिएको र ठूलो संख्यामा मानिस घाइते पनि भएको बताए ।
उक्त जिल्लामा बुधवारदेखि नै झडप भइरहेको छ । काबुलले बिहीवार उक्त क्षेत्रमा विशेष बल तैनाथ गरेको थियो ।
धेरैजसो हाजराहरू शिया सम्प्रदायका हुन् भने तालिबान सुन्नी हुन् ।
एजेन्सी