बेनी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ म्याग्दी आएका छन् ।
पत्नी सीताको तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउन नेता दाहाल आज आएका हुन् ।
बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसासम्बन्धी रोगबाट पीडित प्रचण्ड पत्नी दाहाललाई उपचार गराउन ल्याइएको छ ।
आज दिउँसो हेलिकप्टरमार्फत अर्थुङ्गेस्थित नेपाली सेनाको गणमा अवतरण गराइएपछि सवारी साधनमार्फत बेनी हुँदै दाहाल दम्पती तातोपानी कुण्डमा आएका थिए । सो टोलीमा गृहमन्त्री रामबहादुर थापा र उनकी पत्नी नैनकला, अध्यक्ष दाहालकी छोरी गङ्गालगायत सहभागी छन् ।
प्राकृतिक चिकित्सालयका रुपमा परिचित तातोपानी कुण्डमा शरीरको बाहिरी भाग डुबाएर सीताको उपचार गराउन शुरु गरिएको छ । सीतालाई यसअघि सिङ्गापुर लगेर उपचार गरिएको थियो । तातोपानी कुण्डमा स्नान गरेमा नसासम्बन्धी समस्या हल हुने थाहा पाएपछि उनलाई यहाँ ल्याइएको अध्यक्षका निजी सचिव जोगबहादुर महराले जानकारी दिए ।