०१ असार २०८३, सोमबार

सूर्यदेवको आराधना गरी छठ पर्व मनाइँदै, कांग्रेसभन्दा कम्युनिस्ट खर्चालु

कात्तिक २७, २०७५
सूर्यदेवको आराधना गरी छठ पर्व मनाइँदै, कांग्रेसभन्दा कम्युनिस्ट खर्चालु

काठमाडौं– छठ पर्वको मुख्य दिन मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व आइतबारदेखि शुरु भएको हो । 

सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । 

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ । 

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । 

कांग्रेसभन्दा कम्युनिस्ट खर्चालु
सत्रै सामुहिकता, मितव्ययिता जस्ता नारा घन्काउने कम्युनिस्ट कांग्रेसभन्दा बढी भड्किला, महँगा र खर्चालु देखिएका छन् । कम्युनिस्टहरू कत्तिको तडकभडक छन् भन्ने कुरा दशैँ, तिहार, छठ, नेपाल सम्वत्का अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)द्धारा आयोजित शुभकामना आदान—प्रदान एवं चियापान कार्यक्रममा भएको खर्चबाट नै प्रस्ट हुन्छ । 

हुन त उक्त पार्टीका कुनै नेता आफ्ना कार्यकर्ता नै बढी भएकाले खर्च त्यही अनुपातमा बढेको तर्क गर्छन् तर यस बर्षको चियापानमा नेकपाको खर्च कांग्रेसको भन्दा चारगुणाले बढी देखिएको छ । अहिले प्राप्त खर्च तथ्यांकअनुसार नेकपाले यो चियापानमा ४० लाख रुपैयाँ र नेपाली कांग्रेसले १० लाख रुपैयाँ खर्च गरेको देखिएको छ ।, नेपाल समाचारपत्रमा खबर छ ।

कर्मचारी समायोजन गर्न अध्यादेश ल्याइने
सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याउने तयारी गरेको छ । सरकारले यसअघि ल्याएको ‘कर्मचारी समायोजन ऐन–२०७४’ लाई खारेज गर्दै अध्यादेश ल्याउन लागेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तीन तहमा कर्मचारी समायोजन गर्नका लागि अध्यादेश ल्याउने प्रक्रिया शुरु गरिएको जानकारी गराए । मन्त्री पण्डितले अध्यादेशको प्रक्रिया शुरु गरिएकाले परामर्शका लागि लोक सेवा आयोगलाई समेत जानकारी पठाइएको बताए । सरकारले लोकसेवा आयोगको परामर्श लिएपछि मन्त्रिपरिषद्ले स्वीकृत गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाउनेछ । 

मन्त्री पण्डितले पुस मसान्तभित्र तीनै तहका कर्मचारी समायोजन गर्ने जानकारी गराएका छन् । सरकारले अहिले भएका एक लाख १७ हजार कर्मचारीमध्ये केन्द्रमा करीब ४५ हजार, प्रदेशमा २१ र स्थानीय तहमा ५७ हजार कर्मचारी समायोजन गर्ने तयारी गरेको छ । 

कांग्रेस नेताहरूको बैठक
नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाविरुद्ध बृहत् मोर्चाबन्दीको गृहकार्य शुरू भएको छ । सभापति देउवाको कार्यशैलीविरुद्ध कांग्रेसका ७ प्रभावशाली नेताले बलियो मोर्चाबन्दीको गृहकार्य शुरू गरेका हुन् ।

पार्टीले बनाउने संघीय विधान, सभापति देउवाले विजयकुमार गच्छदारलाई उपसभापति बनाएपछिको अवस्था र मंसिर अन्तिम साता हुने महासमिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा आन्तरिक रणनीति तयार गर्न नेतृ सुजाता कोइरालाको निवास मण्डिखाटारमा सोमबार ‘लञ्च मिटिङ’ भएको हो ।

भेटमा नेतृ कोइरालाका अलावा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांका कोइराला तथा नेताहरू प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. रामशरण महत र अर्जुननरसिंह केसी सहभागी थिए ।

मंसिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने
आगामी मंसिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु हुने भएको छ । नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो ।

गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको पाँचथर जिल्लामा यही मङ्सिर ३ गते राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिए । जिल्लाका सरोकारवालासँगको छलफल र तयारीपछि राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ हुने उनले बताए । 

राष्ट्रिय परिचयपत्र वितरणका लागि पाँचथरमा गत कात्तिक २० गतेसम्ममा ५० हजार ९७४ को नेपाली नागरिकको विवरण सङ्कलन भइसकेको विभागका महानिर्देशक काफ्लेले जानकारी दिए ।

दुई वर्षभित्र माग अनुसार सिटामोल उत्पादन
सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले दुई वर्षभित्र माग अनुसार नै सिटामोल उत्पादन गर्ने तयारी गरेको छ । सिटामोलको माग बढिरहेका बेला नेपाल औषधि लिमिटेडले दुई वर्षभित्र सहज आपूर्ति हुने गरी उत्पादन गर्ने योजनासहितको पञ्चवर्षीय व्यापारिक योजना तयार पारेको हो । 

दुई वर्षभित्र बजारमा माग अनुसारको आपूर्ति हुने गरी सिटामोल उत्पादन गर्ने गरी सो योजना तय गरिएको लिमिटेडका महाप्रबन्धक रोवशकुसुम सुवेदीले जानकारी दिए । 

सांसदको गाडीमा ढुङ्गा प्रहार गर्ने पक्राउ 
महानगरीय प्रहरी वृत्त बौद्धले प्रदेश ३ का सांसद गणेश दुलालको सवार गाडीमा ढुङ्गा प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध महाङ्काल पानीट्याङ्की नजीक सडकमा बा१९च ४९८ नंको गाडीमा हिँडिरहेको अवस्थामा ढुङ्गा प्रहार गर्ने उदयपुरका २० वर्षीय पासाङ दोर्जे शेर्पालाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता पूजा सिंहले सांसद दुलाल गाडीमा हिँडिरहेको अवस्थामा शेर्पाले ढुङ्गा प्रहार गरेकाले पक्राउ गरिएको जानकारी दिए ।  ढुङ्गा प्रहारबाट सांसद सवार गाडीको अगाडिको सिसा चर्केको छ भने सँगै रहेको बा३च ९७१९ नंको गाडीको अगाडिको सिसासमेत फुटेको छ । 

नक्कली सुनलाई सक्कली हो भनी ठगी गर्ने ६ जना पक्राउ
नक्कली सुनलाई सक्कली सुन हो भनी ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । १ किलोग्राम नक्कली सुन दिई नगद ४० लाख रूपैयाँ लिएको अरोपमा काठमाडौंबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका धापासी च्यासीडोल बस्ने सुनसरी धरान उपमहानगरपालिका १७ का २५ वर्षीय पवन वि.क., काठमाडौं पेप्सीकोला ३५ बस्ने धनुषा जनकपुर नगरपालिका ९ का ३५ वर्षीय मनिष ढुङगाना रहेका छन् ।

यसैगरी काठमाडौं काडाँघारी बस्ने सर्लाही हरिवन ९ का २५ वर्षीय बिवेक भन्ने धनेश्वर कुमार दनुवार, काठमाडौं म्हैपी बस्ने सर्लाही लालबन्दी नगरपालिका १९ का २६ वर्षीय रोहित मगर भन्ने पूर्णबहादुर पुलामी, काठमाडौं बौद्ध बस्ने धनकुटा राजारानी गाउँपालिका ६ का २५ वर्षीया सलिना शेर्पा भन्ने संगिता राई र काठमाडौं बौद्ध वेशीगाउँ बस्ने पर्सा विरुवागुठी १ का २९ वर्षीय सन्तोष कुमार लामालाई प्रहरीले पक्राउ गरेको हो । 

गत कात्तिक १६ गते नक्कली सुनलाई सक्कली सुन हो भनी ठगी गरेको उजुरी केन्द्रीय अनुसन्धान व्युरोमा प्राप्त भएपछि ठगी कार्यमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका मध्ये पूर्णबहादुर पुलामीबाट १५ लाख रूपैयाँ र संगिता राईबाट ७ लाख रूपैयाँ समेत प्रहरीले बरामद गरेको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राष्ट्रव्यापी मेयर कप चेस प्रतियोगिता
मध्यपुरथिमि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माउने उद्देश्यले मध्यपुरथिमि नगरपालिकामा पहिलोपटक राष्ट्रव्यापी मेयर कप चेस प्रतियोगिता आयोजना हुने भएको छ । मध्यपुरथिमि नगरपालिका–४ कार्यालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा खेलबारे जानकारी दिँदै प्रतियोगिताको संयोजक वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठले आगामी मङ्सिर ४ देखि ८ गतेसम्म मध्यपुरमा प्रतियोगिता आयोजना हुने बताए । मध्यपुरथिमि नगरपालिका–४ कार्यालय र मध्यपुर चेस क्लबले संयुक्तरूपमा आयोजना गर्ने भएको प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका र नेपाल च्याम्पियन भइसकेका १० जना राष्ट्रिय खेलाडीसहित देशभरबाट १५० जना खेलाडीको सहभागिता रहने उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्