धनगढी, १८ फागुन - नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले मधेसको मुद्दा स्पष्ट नरहेकाले संविधान संशोधन औचित्यपूर्ण नरहेको बताउनु भएको छ ।
प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले अगाडि सारेको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने अडान झनै खतरनाक भएको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारमा रहेका दलहरुबीच नै संविधान संशोधनका बारेमा मतभेद भएकाले संविधान संशोधनको कुनै अर्थ छैन ।”
एक प्रश्नमा उहाँले एमालेले संविधानको कार्यान्वयनका लागि जनदबाब सिर्जना गर्न र राष्ट्रिय एकता एवम् सामाजिक सद्भाव सुदृढ गर्न मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । रासस