काठमाडौं, १९ फागुन– शान्तिको सन्देश बोकेर १३ जना युवाहरु यही फागुन २४ बाट एसियाको भ्रमणमा लाग्ने भएका छन् । संयुक्त युवा संगठनको आयोजनामा युवाहरुले मलेसिया, सिंगापुर, थाइल्याण्ड , इन्डोनेशिया र कम्बोडिया लगायतका देशहरुको १४ दिनसम्म भ्रमण गर्नेछन् ।
नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), स्कलर प्लानेट, बोन ट्राभल्स एन्ड टुर्स, युथ युनेस्को क्लब, पाथीभरा देवी ट्राभल्स एण्ड कार्गो, खुशी कन्सल्टेन्सी र ग्यास्ट्रो पबले उक्त भ्रमणलाई सहयोग गरेका छन् ।
भ्रमणका क्रममा युवाहरुलाई सम्बन्धित देशका विश्वविद्यालयका पदाधिकारी, त्यहाँका युवा तथा गैरआवासीय नेपाली संघका प्रतिनिधिलगायत छलफल र विचार आदानप्रदानको व्यवस्था मिलाइएको युवा टोलीका संयोजक तथा संगठनका अध्यक्ष दिवाकरबाबु भट्टराईले बताएका छन् ।