
काठमाडौं १९ फागुन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिमा संसदमा पेश गरिएको संविधान संशोधन विधेयक पारित हुने अवस्था नरहेको बताएका छन् । नेपाल आदिबासी, जनजाति महासंघका पदाधिकारीसँग बिहिवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले प्रचण्डले पास हुदैन भन्ने जान्दाजान्दै संसदमा मतदानमा जाँदा समस्या बल्झिने बताएका हुन् ।
‘हिजो मैले सरकारमा सहभागी दलका नेताहरुलाई बोलाएर छलफल गरें, राप्रपाका साथीहरुले अहिलेको संशोधन प्रस्तावको पक्षमा मतदान गर्न सक्दैनौं भनेर प्रष्ट भाषामा भन्नुभएको छ, प्रस्ताव मतदानमा गयो भने विपक्षमा मतदान गर्ने उहाँहरुको प्रष्ट कुरा छ’ प्रचण्डले भने, ‘यति कुरा जान्दाजान्दै मतदानमा जाँदा संशोधन प्रस्ताव पारित हुँदैन, फेल हुन्छ ।त्यसले समस्या समाधान होइन, झन् बल्झाउँछ, त्यसैले अलिकति समय लिएर निर्णयमा पुग्नु बुद्धिमानी हुन्छ ।’
प्रचण्डले स्थानीय तहको पूनर्संरचनामा पनि धेरै अधिकार समावेश गरिएको बताएका उनका सहयोगीहरुले जानकारी दिए ।