
बुटवल – ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग (डीएफआईडी) का एसिया क्षेत्रीय प्रमुख पिटर भवेल्स सहितको टोलीले आइतवार भेट गरेको छ ।
भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले अहिले कानून निर्माण र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको जानकारी दिए ।
भेटमा डीएफआइडी नेपाल प्रमुख डा. रुरिड मार्सदेन समेत सहभागी थिए । मुख्यमन्त्रीले सम्भव भएसम्म चालू परियोजनाका सन्दर्भमा पुनरावलोकन गरी अघि बढ्न र अब नयाँ परियोजना सञ्चालन गर्दा छलफल गरेर अघि बढ्न आग्रह गरे ।
डीएफआइडीले नेपालको विकास प्रक्रियामा सहयोग गर्दै आएको र आगामी दिनमा पनि समन्वयात्मक ढंगले काम गर्ने डीएफआइडी एसिया क्षेत्रीय प्रमुख भवेल्सले बताए । उनले परिवर्तित सन्दर्भमा विगतको सहयोगलाई अझै व्यवस्थित गर्न इच्छुक रहेको बताए ।
मुख्यमन्त्रीले प्रदेशको प्राथमिकता, समुदायलाई लाभ पुग्ने र नतिजा दिने विकास परियोजनामा सहयोग हुने विश्वास व्यक्त गरे ।