०६ असार २०८३, शनिबार

समुदाय—प्रहरीपालिका समिति गठन

समुदाय—प्रहरीपालिका समिति गठन

नेपालगञ्ज-  ‘जनता र प्रहरी सँगसँगै’ अभियान अन्तर्गत बाँकेको डुडुवा गाउँपालिकामा आज आयोजित भेलाले समुदाय—प्रहरीपालिका समिति गठन गरेको छ । 

गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीको संयोजकत्वमा २० सदस्यीय प्रहरीपालिका समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा उपप्रमुख साहिदा बानौ, प्रहरी निरीक्षक भरतसिंह राठौर, सदस्यसचिवमा शरण भण्डारी रहनुभएको छ । यसैगरी, सदस्यमा भण्डारीलाल यादव, अशोक पाण्डे, कुन्नी जैसवाल, राकेशकुमार मिश्र, निरञ्जनसिंह सरदार, प्रभा शाही, हेमा थापा, देवराज धिताल, अजमल खाँ, रामरुप कौशल, नैपाल धोबी, सब्बीर खाँ, प्रेमकुमारी शाही, करिम खाँ, खेमनाथ अधिकारी र मानबहादुर बोगटी चयन हुनुभएको छ । 

समितिले गाउँपालिकास्तरमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने, सामाजिक विकृतिविरुद्ध जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने, सुरक्षाको व्यवस्था सुदृढ बनाउने, जनता तथा प्रहरीबीचको सम्बन्ध प्रगाढ बनाउने तथा सामुदायिक योजना निर्माण मूल्याङ्कन र अनुगमन लगायतका काम गर्नेछ । 

कार्यक्रममा प्रमुख चौधरीले गाउँपालिकाको समग्र सुरक्षा व्यवस्था सुदृढ बनाउन र शान्ति स्थापनाका लागि योजना निर्माण गरी काम गरिने बताउनुभयो । पालिकास्तरको समिति गठनपछि अब वडास्तरीय, टोल र विद्यालयमा पनि समुदाय प्रहरी समिति गठन गर्ने इलाका प्रहरी कार्यालय कम्दीका इञ्चार्ज भण्डारीले बताउनुभयो । 

कमेन्ट गर्नुहोस्