
ललितपुर– कक्षा ८ मा अध्ययनरत रेगन मुल्मी यस वर्षदेखि कात्तिक नाचमा प्रवेश गर्नुभएको छ । नाचमा सहभागी हुन उहाँ झण्डै तीन महीनादेखि तयारीमा लाग्नुभयो । परिवारमा आफूभन्दा अग्रज सहभागी नभए पनि उहाँ साथीभाइको लहलहैमा आउनुभएको थियो ।
नाचको महत्व र नाचका चाखलाग्दा कथाले गर्दा उहाँलाई यसलाई निरन्तरता दिन मन छ । उहाँले भन्नुभयो, “सानैदेखि नाच हेरेको भए पनि नाचमा सहभागी भएको यो नै पहिलो पटक हो ।” गत सातादेखि शुरु भएको कात्तिक नाचमा युवाको आकर्षण बढ्दो छ । चार पाँच दशक पहिलेजस्तो अहिले कलाकारका लागि आकर्षक भत्ता छैन । भत्ता र सुविधा हुँदा पहिले पाका उमेरका मात्रै सहभागी भए पनि अहिले यसमा सहभागी हुने युवाको सङ्ख्या बढ्दै छ ।
यस वर्ष नाचमा सहभागी १०० कलाकारमध्ये मुल्मीसँगै सात नयाँ कलाकार भित्रिएका छन् । तीमध्ये सबै २० वर्षमुनिका युवा छन् । विद्यालय वा कलेजमा अध्ययनरत उनीहरु पढाइ सकेर साँझमा कात्तिक डबली पुग्ने गर्छन् । कुनैकुनै वर्षमा कोही परीक्षाका कारण बीचमा रोक्छन् भने कति कलाकार अध्ययन वा रोजगारीका लागि विदेश जाँदा नाचमा नयाँ कलाकारले ठाउँ पाउँछन् । अर्का युवक रिजन महर्जनले चार वर्ष पहिलेदेखि नाच्न थाल्नुभएको हो । सङ्गीत सिक्दै गर्नुभएका उहाँ बाबुबाजेले बचाएर ल्याएको नाच युवापुस्ताले संरक्षण गर्नुपर्ने धारणा राख्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “यो नाच अनौठो भएकाले संसारलाई नै चिनाउन खाँचो छ ।” उहाँ यस वर्ष देवगण र राधिका भएर नाचमा सहभागी हुँदै हुनुहुन्छ । कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले कलाकारलाई पारिश्रमिकको व्यवस्था गर्न नसके पनि आफ्नो संस्कृतिप्रतिको मोहका कारण नयाँ पुस्ता आकर्षित भइरहेको बताउनुभयो । चारपाँच पटक पहिले नाचका दिन मात्रै नभएर तयारीका लागि समेत कलाकारका लागि सुविधाको व्यवस्था थियो । अहिले अर्थ अभावले गर्दा कलाकारलाई नाचको दिनमा तीनचार सय पारिश्रमिक दिइन्छ ।
उहाँले भन्नुभयो, “त्यतिबेला रु ४०÷५० भनेको अहिलेको हजारभन्दा बढी थियो ।” बीस वर्षदेखि कात्तिक नाचमा हिरण्यकश्यपका रुपमा नाच्दै आउनुभएका संरक्षण समितिका अध्यक्ष चित्रकार यस वर्ष २१ औँ पटक पनि यही पात्रमा नाच्दै हुनुहुन्छ । उहाँभन्दा पहिले उहाँको हजुरबुबा यो पात्रका रुपमा नाच्दै आउनुभएको थियो । उहाँले नाच शुरु गर्दा वर्षमा युवा धेरै हुँदैनथे । नाचमा सहभागी सबै पाका उमेरका कलाकार थिए । उहाँले भन्नुभयो, “उतिबेला अहिले जस्तो आउँछु भन्ने पनि थिएनन् र राख्न पनि चाहँदैनथे ।”
कात्तिक नाच उपत्यकाकै समावेशी नाच भएको समितिले बताएको छ । पाटनका नेवारी समुदायका अधिकांश जात नाचमा सहभागी हुन्छन् । कुन पात्रका रुपमा कुन ठाउँका र कुन जातका सहभागी हुने भन्ने तोकिएको छ । नाचमा महिला पात्रको भूमिका भए पनि पुरुष पात्रले नै निभाउने गर्छन् । अघिल्ला केही वर्ष जसरी नै यस वर्ष पनि नाच १२ दिनसम्म चल्नेछ । नाचको पहिलो दिन ‘बाःथ प्याखँ’(बाठोको नाच) नाचअन्तर्गतको ‘ल्यव लायेगु’(नाठो पक्रनु) र दोस्रो दिन ‘खुशी छिकेगु’(नदी तर्नु) देखाइएको थियो ।
बुधबारदेखि उषाहरण लीलाअन्तर्गतकै नाच शुरु भएको छ । यो नाच शृङ्खलाबद्ध रुपमा पाँच दिन चल्नेछ । पहिलो दिन ‘वाणासुरयात सहस्रभुज वरदान नाच’ देखाइयो । दोस्रो दिन ‘उषा व अनिरुद्ध शृङ्गार’(उषा र अनिरुद्धको शृङ्गार) र तेस्रो दिन ‘देवी प्याखँ’(देवीनाच) देखाइयो । नाचमा आज चौथो दिन ‘युद्ध कला’ र सोमबार ‘वाणासुरया सहस्रभुज त्वाल्हाइगु’ (वाणासुरको हजार हात काट्नु) नाच छन् ।
सोमबार ‘मधु–कैटभ बध’ देखाइनेछ । मङ्गलबार बराह अवतारको ‘हिरण्याक्ष’ देखाइनेछ । अर्काे साता बुधबार नाचमा सबैभन्दा धेरै आगन्तुकले रुचाउने नृसिंह अवतारको ‘हिरण्यकश्यप बध’ देखाइने भएको छ । बिहीबार ‘वस्त्रहरण लीला’ र अन्तिम दिनमा ‘दधि लीला’ देखाइने संरक्षण समितिले जनाएको छ । दशैँतिहार सकिएर र धान थन्क्याएर पाटनवासी फुर्सदमा हुने समयमा मनोरञ्जन दिने उद्देश्यले पाटनका राजा सिद्धिनरसिंह मल्ल ले यो नाच शुरु गरेका थिए ।
तस्वीर: फेसबुकबाट