
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीको महासमितिको बैठकमा पेश हुने राजनीतिक प्रस्तावको तयारीमा जुटेको छ । कांग्रेसले विभिन्न प्रदेशमा कार्यक्रम गरेर रायसुझाव संकलन गरिरहेको छ ।
यसैक्रममा मंगलबार प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा मङ्सिर ६ गते प्रदेश नं ५ मा सुझाव सङ्कलन कार्यक्रम रहेको कांग्रेसले जनाएको छ । कांग्रेसले सोमबार प्रदेश नं ३ स्तरीय कार्यक्रम आयोजना गरी सुझाव सङ्कलन गरेको थियो । समितिले शनिबार प्रदेश नं २ र गण्डकी प्रदेशको सुझाव सङ्कलन गरिसकेको छ ।
पार्टीका केन्द्रीय सदस्य, कांग्रेस आबद्ध सङ्घीय र प्रादेशिक सांसद, महासमिति सदस्य, क्षेत्रीय सभापति, स्थानीय तहमा निर्वाचित काङ्ग्रेसका प्रमुख र उपप्रमुख तथा भ्रातृ र शुभेच्छुक संस्थाका प्रादेशिक प्रमुखहरुबाट सुझाव लिइँदै छ ।
प्राप्त सुझावलाई एकीकृत गरी पार्टीको केन्द्रीय समितिमा पेश गर्ने र केन्द्रीय समितिबाट पारित प्रस्तावलाई महासमिति बैठकमा पेश गरिनेछ । कांग्रेसको महासमितिको बैठक यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा गर्ने तय भएको छ ।