
काठमाडौँ– नेपाली तयारी पोशाक (रेडिमेट गार्मेन्टस्)मा शून्य भन्सार सुविधा उपलब्ध गराउन संयुक्त राज्य अमेरिका सकारात्मक देखिएको छ ।
नेपालले गरेको भन्सार सुविधाको आग्रहलाई सकारात्मक लिँदै अमेरिकाको ‘अमेरिकी ट्रेड रिप्रिजेन्टेटिभ’ (युएसटिआर)ले कानुनी प्रक्रिया अगाडि बढाउने संकेत गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
व्यापार र लगानीको ढाँचासम्बन्धी सम्झौता(टिफा)अन्तर्गत नेपाल र अमेरिकाबीचको एकमात्र द्विपक्षीय स्थायी संयन्त्रको गत कात्तिक २७ गते सम्पन्न चौथो बैठकमा नेपालले शून्य भन्सारको सुविधा प्राप्त गर्ने ७७ वटा वस्तुको सूचीमा तयारी पोशाकलाई समावेश गर्न आग्रह गरेको थियो ।
बैठकमा भएको छलफलबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले विगतमा अमेरिकी बजारमा निकै ठूलो परिमाणमा जाने गरेको तयारी पोशाकको निर्यातमा सहयोग गर्न प्रस्ताव गरिएको जानकारी दिए ।