
काठमाडौं। सलिनमान बानिया अभिनित चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’को प्रदर्शन मिति तय गरिएको छ ।
सम्राट शाक्यको डेब्यु निर्देशन रहेको चलचित्र चैत २९ गते प्रदर्शनमा आउने निर्माण यूनिटले जनाएको छ । निर्माता केशव भट्टराईको जन्मदिनको अवसर पारेर चलचित्रको पोष्टरसंगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा अभिनेता सलिनमान मात्र फिर्चड छन् । चलचित्रमा सलिनसँगै सलोन बस्नेत, जाहन्वी बस्नेत, रेअर राई, जय नन्द लामा, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल लगायतको अभिनय छ ।
‘ए मेरो हजुर २’ बाट सिने क्षेत्रमा डेब्यू गरेका सलिनमानको यो दोस्रो चलचित्र हो । यही चलचित्रमार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको निर्माण टिमले जनाएको छ । जर्नी लभ स्टोरी भनिएको चलचित्रले यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।
चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।