
धनगढी – गाउँपालिका राष्ट्रिय महासंघ नेपाल समन्वय समिति सुदूरपश्चिमले प्रत्येक गाउँपालिकालाई आर्थिक सहयोगको लागि परिपत्र जारी गरेको छ ।
मंसिर ११ र १२ गते डोटीको बुँडरमा हुने महासंघको सुदूरपश्चिम स्तरीय अधिवेशनको लागि भन्दै सो समितिले प्रत्येक गाउँपालिकालाई ३० हजार आर्थिक सहयोगको लागि परिपत्र जारी गरेको हो ।
समितिका प्रदेश संयोजक तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले १० हजार अधिवेसन सहयोग शुल्क र २० हजार वार्षिक सदस्यता शुल्क गरी ३० हजार रुपैयाँ बुझाउन निर्देशात्मक परिपत्र जारी गरेको स्वीकार गरे ।
गाउँपालिकाले सहयोग शुल्क कुन शीर्षकबाट उपलब्ध गराउने भन्ने लोकान्तरको जिज्ञासामा संयोजक ओझाले भने, ‘आफ्नो मातृ संस्था हो, दिनैपर्यो नि ! भैपरी शीर्षक अन्तर्गत भएपनि दिनुपर्यो ।’ सहयोग शुल्क नदिने गाउँपालिकालाई प्रतिनिधित्व नगराउने समेत परिपत्रमा उल्लेख छ ।

महासंघकी केन्द्रीय सदस्य समेत रहेकी जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले प्रक्रियागत तथा नीतिगत रुपमा आर्थिक सहयोग दिन नमिल्ने बताइन् । देशभरकै गाउँपालिकाले प्रक्रिया र नीतिगत ढंगले सहयोग गर्ने बताइन् । कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले अधिवेशनको लागि भनेर आफूहरू कार्यपालिका बैठकबाट पहिले नै निर्णय गरेर बजेट विनियोजन गरेको बताए ।
अधिवेशनमा प्रत्येक गाउँपालिकाबाट ३ जनाका दरले उपस्थिति रहने जनाइएको छ । सुदूरपश्चिम प्रदेशमा ५४ वटा गाउँपालिका रहेका छन् । अधिवेशनको उद्घाटन मुख्यमन्त्री त्रिलोचन भट्टबाट हुनेछ ।