
धनगढी – नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालय धनगढीले मंसिर ९ गतेदेखि धान खरिद गर्ने भएको छ ।
अञ्चल प्रमुख प्रेमनारायण भण्डारीले संस्थानको केन्द्रीय कार्यालयबाट मंगलवार साँझ धान खरिद गर्ने निर्देशन आएको जानकारी दिँदै आइतवारदेखि धान खरिदको लागि काँटा लगाउने बताए ।
सरकारले तोकेको समर्थन मूल्य अनुसार धान प्रतिक्वीन्टल २ हजार ३ सय ३० रुपैयाँमा खरिद गरिने जनाइएको छ । चालू वर्ष ५० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य बनाएको सेती अञ्चल कार्यालयले धनगढीको मोहनपुर र टीकापुरमा खरिद डिपो सञ्चालन गर्ने तयारीमा रहेका अञ्चल प्रमुख भण्डारीले बताए ।
गत साउन २३ गते बसेको संघीय सरकारको मन्त्रिपरिषद्को बैठकले मोटा धानको न्यूनतम मूल्य प्रतिक्वीन्टल २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यमको २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा निर्धारण गरेको थियो । तर सरकारका निर्णय समयमै कार्यान्वयनमा नआउँदा किसान मर्कामा परेका छन् ।

पूर्वनिर्धारित धानको समर्थन मूल्यमा धान खरिदमा सरकारकै निकायबाट ढिलासुस्ती हुँदा किसान व्यापारी कहाँ सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् । किसानले आजभोलि स्थानीय गल्ला व्यापारीलाई प्रतिक्वीन्टल २ हजारदेखि २ हजार २ सय रुपैयाँमा धान बिक्री गर्न बाध्य छन् ।
संस्थानले ढिलै भएपनि धान खरिद गर्ने तयारी गरेपनि सीमित ठाउँमा मात्रै डिपो सञ्चालन गर्ने भएको हुँदा साना तथा दूरदराजका किसानले सरकारी मूल्य नपाउने समेत निश्चितप्रायः छ ।
साना तथा दूरदराजका किसानलाई मध्यनजर गरी सरकारले प्रत्येक स्थानीय तहमा धान खरिद डिपो सञ्चालन गर्नुपर्ने बताउँछन् कैलालीको कैलारी गाउँपालिका–५ का किसान वीरकुमार चौधरी ।