११ असार २०८३, बिहीबार

सडक फराकिलो भएसँगै दुर्घटना बढे : चालकमात्र होइन पैदल यात्रु पनि मान्दैनन् ट्राफिक नियम

मंसिर ६, २०७५
सडक फराकिलो भएसँगै दुर्घटना बढे : चालकमात्र होइन पैदल यात्रु पनि मान्दैनन् ट्राफिक नियम

काठमाडौं – विकाशील देशमा सडकलाई विकास निमार्णको मुख्य कडीको रूपमा लिइन्छ । नेपालमा पनि सरकारले सडकलाई पहिलो प्रथामिकतामा राखेको छ ।

विकास बजेटको महत्त्वपूर्ण हिस्सा सडकका लागि खर्च हुन्छ । यातायातको चाप, जनघनत्व आदिलाई मध्यनजर गर्दै नयाँ सडक निर्माण सँगसँगै पुराना सडकको स्तरोन्नति पनि भइरहेको छ ।
काठमाडौं उपत्यकामा सडक विस्तारको काम निरन्तर चलिरहेको छ । कोटेश्वर–सूर्यविनायक खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

कलंकी–बल्खु–कोटेश्वर खण्डको स्तरोन्नति कार्य पनि अन्तिम चरणमा छ ।

स्तरोन्नतिपछि फराकिलो बनेका यी दुई सडक खण्डमा यातायात आवागमन सहज बनेको छ । तर दुर्घटनाको दरमा पनि वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटनामा मासिक सरदर २ जनाको ज्यान जाने तथा ७ जना गम्भीर घाइते हुने गरेको ललितपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथुले बताए ।

उपत्यकामा भएकामध्ये ५० प्रतिशत सवारी दुर्घटना यी दुई सडक खण्डमा तीव्र गतिमा सवारी चलाउँदा हुने गरेको हाछेथुले बताए ।

‘अहिले नेपालमा फराकिला सडकहरू निर्माणधीन छन् । ट्राफिक चेतनाको कमी छ । जेब्राक्रसिङ नियमको पालना नगर्नु, सवारी चलाउँदा मोबाइलमा कुराकानी गर्नु, तीव्र गतिमा सवारी हाँक्नुजस्ता कारणले सबैभन्दा धेरै सवारी दुर्घटना हुने गरेको हाछेथुले बताए ।

आर्थिक वर्ष २०७५/७६ को अघिल्लो ५ महिनामा उपत्यकामा २ हजार ६ सय ९४ सवारी दुर्घटना भएका छन् । जसमध्ये ट्रक/टिप्पर ५ सय २४, बस ५ सय ७९, माइक्रोबस १ सय ४९, कार ÷ भ्यान ÷ जीप १ हजार ६ सय ८६,  मोटरसाइकल/स्कूटर १ हजार ७ सय ५२, टेम्पो/ट्याक्टर ४४ र साइलक ४२ रहेका छन् ।

उपत्यकाभित्र भएका सवारी दुर्घटनामा ८१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० पुरुष र २१ महिला रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पैदलयात्रु ३१ र मोटरसाइकल तथा स्कूटी चालक ३१ जनाको मृत्यु भएको छ । यसैगरी कार दुर्घटनामा ९ जना, ट्रक दुर्घटनामा ३ जना, साइकल दुर्घटनामा ३ जना, बस दुर्घटनामा ३ जना र माइक्रोबस दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये अधिकांश १७ देखि ३५ वर्ष उमेर समूहका युवा छन् । यसरी हेर्दा युवा अवस्थाका सवारी चालकहरू बढी दुर्घटनामा पर्ने गरेको देखिन्छ ।

पैदल यात्रु र दुई पाङ्ग्रे सवारी चालकको मृत्युदर उच्च रहेको ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक जितेश दाहाल बताउँछन् । उनले लोकान्तरसँग भने, ‘युवामा ट्राफिक जनचेतनाको अभाव छ । घरमा पनि यसबारेमा छलफल हुनु जरुरी देखिन्छ । लेन अनुशासन उल्लंघन र तीव्र गतिमा सवारी हाँक्दा बढी दुर्घटना भएका छन् ।

आकाशे पुल हुँदाहुँदै पनि तलबाट बाटो काट्नेहरू पनि धेरै दुर्घटनामा परेका छन् । कतिपय पैदलयात्रु आकाशे पुललाई बेवास्ता गर्दै सडकबाटै बाटो काट्न मन पराउँछन् । कतिपयलाई भने सिंडी उक्लिन, ओर्लिन गाह्रो लाग्ने गर्छ ।

बागडोलमा आकाशे पुलमुनिबाट भारी बोकेर बाटो काट्दै गरेकी एक अघबैंसे महिला भन्छिन्– ‘पुलमा १ सय २ वटा खुड्किला छन्, हामी जस्ता भारी बोकेर हिँड्नेले कसरी सक्नु !’
त्यसो त निर्माण पूर्णरूपमा सम्पन्न भइनसकेको कलंकी कोटेश्वर खण्डमा पर्याप्त आकाशे पुल र जेब्राक्रस पनि छैन ।

पछिल्लो समय लेन जनचेतनाका लागि ट्राफिक प्रहरीले फूल दिने, चकलेट दिने, सडकमै २ घण्टा कक्षा सञ्चालन गर्ने गर्ने पनि त्यतिसारो प्रभावकारी देखिएको छैन ।

 

 

salt training

कमेन्ट गर्नुहोस्