२४ जेठ २०८३, आइतबार

किन अहिले संसारभरि छाएको छ पपुलिजम ?

किन अहिले संसारभरि छाएको छ पपुलिजम ?

काठमाडौं — लोकरञ्जनवाद (पपुलिजम) आकर्षक छ । विशेषगरी सन् २०१६ पछि ब्रेक्जिट जनमतसंग्रह र डोनल्ड ट्रम्पको विजयपश्चात् पत्रकारहरूले यस विषयमा लेखिनैरहेका छन् । 

सन् १९९८ मा द गार्डियनले लोकरञ्जनवाद र लोकरञ्जनवादी जस्ता शब्द प्रयोग गरिएका ३०० वटा जति लेख प्रकाशित गरेको थियो । सन् २०१५ मा आइपुग्दा लगभग एक हजार लेखमा यी शब्द प्रयोग भए अनि त्यसको एक वर्षपछि यो संख्या बढेर दुई हजार पुगेको छ । 

यो शब्दको बढ्दो लोकप्रियता कुनै काकताली हैन । लोकरञ्जनवादी दलहरूले युरोपमा विगत २० वर्षमा आफ्नो मत तीनगुणा बढाएका छन् । युरोपका ११ मुलुकमा उनीहरूले सरकार चलाइरहेका छन् । एक चौथाइभन्दा बढी युरोपेलीहरूले विगतका निर्वाचनहरूमा लोकरञ्जनवादीहरूलाई मत दिएका छन् । 

किन त ? यो प्रश्नको कुनै सहज उत्तर छैन । हालै भएका प्राज्ञिक अध्ययनहरूले पश्चिमी विश्वभरि लोकरञ्जनवादी दृष्टिकोण बढिरहेको देखाएका छन् । धेरै नागरिकले सामान्य र इमान्दार मानिसहरूलाई धोका दिइएको, बेवास्ता गरिएको र एक भ्रष्ट सम्भ्रान्त वर्गले शोषण गरेको धारणा राख्ने गरेका छन् । बलियो लोकरञ्जनवादी दृष्टिकोण भएका नागरिकले लोकरञ्जनवादी दललाई नै मत दिन्छन् भन्ने छैन (वास्तवमा तीमध्ये धेरैले मत दिँदैनन्) तर तिनीहरूले मत दिन सक्ने अनेकौं परिस्थितिहरू निर्माण भएका छन् । 

मूलधारका वामपन्थी र दक्षिणपन्थी शक्तिहरूका बीच विचारधारात्मक एकता भएमा लोकरञ्जनवादीहरू हुर्किने मलिलो वातावरण बन्छ । यसो हुँदा धेरै मतदाताहरूलाई सबै मूलधारे राजनीतिक दलहरू एउटै किसिमका हुन् भन्ने सन्देश जान्छ

पहिलो, समाज जति धेरै व्यक्तिवादी हुन्छ मतदाताहरू त्यति नै बढी स्वतन्त्र र खुला हुन्छन् अनि यसले निर्वाचनमा अस्थिरता निम्त्याउँछ । यस्ता परिस्थितिमा लोकरञ्जनवादी दृष्टिकोणहरू वास्तविक लोकरञ्जनवादी मतमा परिणत हुने सम्भावना बढ्छ । हुन पनि परम्परागत मूलधारका दलहरूबाट एक मात्राको दूरी नबनेमा मतदाताहरू तीबाट हट्ने र लोकरञ्जनवादी बन्ने सम्भावना रहँदैन । 

दोस्रो, मूलधारका वामपन्थी र दक्षिणपन्थी शक्तिहरूका बीच विचारधारात्मक एकता भएमा लोकरञ्जनवादीहरू हुर्किने मलिलो वातावरण बन्छ । यसो हुँदा धेरै मतदाताहरूलाई सबै मूलधारे राजनीतिक दलहरू एउटै किसिमका हुन् भन्ने सन्देश जान्छ । 

यसको राम्रो उदाहरण फ्रान्समा पाइन्छ । त्यहाँको लोकरञ्जनवादी दल फ्रन्ट नेसनल (अहिले नाम परिवर्तन गरेर नेसनल ¥याली) ले आफ्नो अभियानलाई मध्यमार्गी दक्षिणपन्थी यूएमपी र मध्यमार्गी वामपन्थी पीएसको नाम मिसाएर यूएमपीएस बनायो । अझ मूलधारका दलहरू मिसिँदा तिनीहरूले विचारधाराको निकै ठूलो स्पेस छोड्छन् र उनीहरू उग्र सोच राख्ने नागरिकको चिन्ताप्रति जवाफदेही हुँदैनन् । 

तेस्रो, संकटहरूले लोकरञ्जनवादी दृष्टिकोणलाई सक्रिय बनाउने सम्भावना रहन्छ । उदाहरणका लागि, आर्थिक संकटले मूलधारका दलहरूलाई आलोचनाको शिकार बनाउने सम्भावना रहन्छ । संस्थापन पक्षका सम्भ्रान्तहरूले कामकुरा बिगारेको भनी आलोचना हुन सक्छ । युरोपमा आप्रवासी संकट आएपछि लोकरञ्जनवादी दलहरूले के तर्क गर्न पाए भने शासनसत्तामा रहेका सम्भ्रान्तहरूले सीमा खुला गरिदिए अनि आप्रवासीको प्रवाहलाई व्यवस्थापन गर्न सकेनन् । 

लोकरञ्जनवादका लागि ऊर्वर भूमि मात्र लोकरञ्जनवादलाई कायम राख्न पर्याप्त छैन । विद्यमान दलहरूको आकर्षक विकल्प दिनसक्ने विश्वसनीय लोकरञ्जनवादी दल वा नेता हुनु आवश्यक छ ।

चौथो, व्यापक मात्राको भ्रष्टाचार लोकरञ्जनवादीहरूका लागि राम्रो हतियार हो । राजनीतिक दलहरू चरम भ्रष्टाचारी भएमा जनतालाई सम्भ्रान्तहरूले शोषण गरिरहेको भनी लोकरञ्जनवादीहरूले दाबी गर्न पाउँछन् अनि जनताले त्यसलाई पत्याउँछन् पनि । सन् १९९० को दशकमा इटलीमा ठ्याक्कै यही भएको हो । घूसखोरी, नातावाद र अन्य किसिमका भ्रष्टाचारमाथि राष्ट्रव्यापी न्यायिक अनुसन्धानको परिणामस्वरूप दलीय प्रणालीमा नै उलटपुलट आयो । यसले गर्दा सिल्भियो बर्लुस्कोनी र लीग जस्ता लोकरञ्जनवादीहरू उदय हुन पाए । 

तर लोकरञ्जनवादका लागि ऊर्वर भूमि मात्र लोकरञ्जनवादलाई कायम राख्न पर्याप्त छैन । विद्यमान दलहरूको आकर्षक विकल्प दिनसक्ने विश्वसनीय लोकरञ्जनवादी दल वा नेता हुनु आवश्यक छ । आकर्षक विकल्पका रूपमा हेरिनका लागि संस्थापनलाई चुनौती दिने दलले असन्तुष्ट मतदाताहरूको ठूलो संख्यालाई अपील गर्ने सन्देश व्यक्त गर्नुपर्ने हुन्छ । अझ, जनताको मन जितेको नेता छ र विशेषगरी दीर्घकालका लागि राम्रो सञ्चालनमा रहेको पार्टी संगठन छ भने त लोकरञ्जनवादलाई मौलाउन झनै सहायता पुग्छ । 

मिडियामा आइरहेको परिवर्तनले पनि यसमा भूमिका खेल्छ । परम्परागत मिडियाका ग्राहकहरूको संख्या घटेकाले परम्परागत मिडिया अहिले बढीभन्दा बढी बिक्ने विषयमा जोड दिन थालेका छन् । जस्तै, विवाद वा द्वन्द्वका विषय । यसले संकटको भाव उत्पन्न गर्छ अनि लोकरञ्जनवादीले त्यसबाट फाइदा उठाउन पाउँछन् । 

वास्तवमा सामाजिक राजनीतिक सन्दर्भहरू भूगोलका आधारमा भिन्नभिन्न हुन्छन् र लोकरञ्जनवादमा पनि यसरी नै विविधता छ । उत्तरी युरोपमा सफल लोकरञ्जनवादीहरू मुख्यतया उग्रवादी दक्षिणपन्थी लोकरञ्जनवादी हुन् । डेनिस पीपुल्स पार्टी, द फिन्स र स्विडेन डेमोक्रेटहरू सबैले लोकरञ्जनवादी सन्देशका साथ विदेशीप्रति घृणासहितको राष्ट्रवादी दृष्टिकोण अपनाउने गरेका छन् । 

वामपन्थी लोकरञ्जनवाद युरोपको यो भागमा अलि कम फैलिएको छ किनकि नोर्डिक देशहरूमा बलियो अर्थतन्त्र छ र कल्याणकारी व्यवस्था छ जसले गर्दा उग्रवादी वामपन्थी लोकरञ्जनवादी सन्देशलाई त्यति महत्त्व दिइँदैन । 

दक्षिणी युरोप चाहिँ अलिक फरक छ । स्पेन, इटली र ग्रीस जस्ता देशमा लोकरञ्जनवाद उग्रवादी दक्षिणपन्थी घटनामा सीमित छैन । आर्थिक संकटले यी देशहरूलाई अन्यत्रभन्दा बढी नै असर पारेकाले पनि यसो भएको हुन सक्छ । त्यसैले त्यहाँ वामपन्थी लोकरञ्जनवादी सन्देशका लागि सही माहौल बनेको छ । 

स्पेनमा पोडेमोस र ग्रीसमा सीरिजा जस्ता दलले लोकरञ्जनवादलाई उग्रवादी वामपन्थी मूल विचारधारसँग मिसाउने गरेका छन् । इटलीमा फाइभ स्टार मुभमेन्टले लोकरञ्जनवादलाई विविध विचारधारात्मक अडानहरूसँग मिश्रण गर्ने गरेको छ । 

पश्चिमी युरोप चाहिँ दक्षिणी युरोपभन्दा फरक छ । त्यहाँ उग्रवादी वामपन्थी लोकरञ्जनवादीहरू अलि कम सफल छन् । युरोपको यस भागमा दक्षिणी युरोपभन्दा बलियो अर्थतन्त्र भएकाले पनि यसो भएको हुनुपर्छ । आयरल्यान्ड चाहिँ यसको अपवाद हो । त्यस देशले आर्थिक रूपमा धेरै राम्रो प्रदर्शन गरेन र त्यहाँ तुलनात्मक रूपमा सफल उग्रवादी वामपन्थी लोकरञ्जनवादी दल छ : सिन फेइन ।

मध्य र पूर्वी युरोपका देशहरूको राजनीतिक धरातल धेरै फरक देखिन्छन् । त्यहाँ लोकरञ्जनवाद राजनीतिक परिदृश्यको कुनाकाप्चामा उठेको नभई केन्द्रमै उठेको हो । हंगेरीमा फिडेच र पोल्यान्डमा ल एन्ड जस्टिस पार्टी मूलधारकै दलका रूपमा स्थापित भएका हुन् । पछि गएर मात्र उनीहरूले लोकरञ्जनवाद र अझ पछि गएर राष्ट्रवाद अपनाएका हुन् । उनीहरूसँग उग्रवादी विरासत नभएकाले उनीहरूको छवि बिग्रिएको छैन । त्यसैले पनि उनीहरूको देशमा उनीहरू अग्रणी दलका रूपमा रहेका छन् । 

यी सबै भौगोलिक भिन्नताका बावजूद युरोपभरि लोकरञ्जनवाद हुर्किने परिस्थिति झनै बढी मलिलो बनेको छ । र लोकरञ्जनवादी दलहरूले यसको फाइदा पहिलेभन्दा बढी नै उठाउन पाउने सम्भावना छ । 

आम्सट्रड्याम विश्वविद्यालयमा राजनीतिक समाजशास्त्रीका रूपमा कार्यरत म्याथिस रूडुजिनले द गार्डियनमा प्रकाशन गरेको विश्लेषणको भावानुवाद

salt training

कमेन्ट गर्नुहोस्