२२ जेठ २०८३, शुक्रबार

क्रिस्चियन मिसनरीलाई धनुकाँड हानेर मारे आदिवासीहरूले

क्रिस्चियन मिसनरीलाई धनुकाँड हानेर मारे आदिवासीहरूले

काठमाडौं — भारतको अन्डमान निकोबार टापुमा बस्ने आदिवासीहरूले त्यहाँ पुगेका एक अमेरिकीलाई धनुकाँड हानेर मारेको प्रहरीले बताएका छन् । 

सत्ताईस वर्षीय जोन एलेन चाउले माझीहरूलाई पैसा तिरेर नर्थ सेन्टिनेल टापु लैजान लगाएका थिए । त्यहाँ ३० हजार वर्षदेखि बसिरहेको आदिवासी समूहले बाहिरका मान्छेको उपस्थिति पटक्कै मन पराउँदैनन् । 

‘साना डुंगा चलाउने माझीहरूले उनलाई यो जाखिम नलिन भनेका थिए,’ आदिवासी समूहको अधिकार अभियन्ता तथा पत्रकार डेनिस गाइल्सले बताए । 

केही क्रिस्चियन समूहहरूले चाउ एक मिसनरी भएको दाबी गरेका छन् । चाउ नर्थ सेन्टिनल टापु पुग्ने उपाय खोजिरहेका थिए र शनिवार त्यहाँ पुग्न सफल भएका थिए । उनले माझीहरूसँग सानो डुंगामा आधी बाटो पुगेपछि बाँकीको बाटो कायाक चढेर गएका थिए । 

‘कसो कसो उनी पुगे,’ गाइल्सले भने । उनले थपे, ‘डुंगामा रहेका माझीले उनलाई वाण लागेको देखेको बताए । पछि उनलाई टापुमा टाढा लगियो अनि गाडियो ।’

अन्डमान र निकोबार टापुहरू बंगालको खाडी र अन्डमान समुद्रको दोबाटोमा छरिएर रहेका छन् । ती टापुलाई बेलायतले सन् १८५० को दशकमा कब्जा गरेर सजाय दिने ठाउँ बनाएको थियो । बेलायती साम्राज्यविरुद्ध लड्ने
योद्धाहरूलाई सजायस्वरूप त्यहाँ राख्ने गरिन्थ्यो । 

यी टापुहरूमा चारथरी आदिवासी बस्ने गरेको मानवशास्त्रीहरूले प्रमाण फेला पारेका छन् । त्यसमध्ये पनि सेन्टिनल टापुका आदिवासीहरू साह्रै एकान्तजीवी छन् र उनीहरू त्यहाँ कम्तीमा ३० हजार वर्षदेखि छन् । 

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्