०२ साउन २०८३, शनिबार

फेसबुकमा सन्देश लेख्दै वडाध्यक्षले गरे राजीनामा दिने घोषणा

मंसिर ६, २०७५
फेसबुकमा सन्देश लेख्दै वडाध्यक्षले गरे राजीनामा दिने घोषणा

बुटवल –रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष दुर्गाप्रसाद पाण्डेले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

फेसबुकमा सन्देश लेख्दै पाण्डेले इमेल वा पत्रमार्फत् आफूले राजीनामा दिन लागेको बताएका हुन् ।

'म आज केही दिनका लागि दिल्ली हुँदै मुम्बई जाँदैछु । म अनुकूल भएसम्म हुलाक वा इमेलमार्फत वडाध्यक्ष पदबाट राजीनामा पठाउनेछु । राजीनामा स्वीकार गरेर मलाई सहायता गर्नुहोला,' उनले नगर कार्यपालिकाको फेसबुक च्याट ग्रुपमा सन्देश लेखेका छन् ।

तिलोत्तमा नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले बुटवलमा सञ्चालित गौतम बुद्ध मुटु अस्पताललाई १० बिगाहा जग्गा उपलब्ध गराउने निर्णय गर्दा उनले त्यसको विरोध गरेको स्रोतले जानकारी दियो ।

उनी नेकपाका तर्फबाट प्रतिनिधित्व गर्छन् । तिलोत्तमा नगरपालिका प्रमुख/उपप्रमुख पनि नेकपाकै हुन् । त्यसमाथि पनि सबै पूर्वएमाले खेमाका ।

पाण्डे तिलोत्तमामै सञ्चालित क्रिमसन अस्पतालका सञ्चालक समेत रहेको स्रोतले जानकारी दियो ।

यसबारे उनीसँग प्रतिक्रिया लिन खोज्दा मोबाइल स्वीच अफ रहेको पाइयो ।

नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले आफूलाई राजीनामा बारे जानकारी नभएको बताए ।

उनले लोकान्तरसँग भने, ‘हिजो बैठकमा सँगै थियौं । मैले पनि हल्ला सुनेको छु । अन्य कुनै जानकारी आएको छैन ।’

बुधबारको बैठकमा पाण्डेले मुटु अस्पताललाई १० बिघा जग्गा उपलब्ध गराउने निर्णयमा असहमति जनाएको स्रोतले जानकारी दियो ।

राजीनामा दिने घोषणा गरेर पाण्डे पूर्वनिर्धारित कार्यक्रम अनुसार भारतको मुम्बई प्रस्थान गरेका छन् ।

फेसबुकमा उनले आफूलाई सहयोग गर्ने नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित नगरपालिकाका सबै कार्यपालिका सदस्य र कर्मचारीहरूलाई धन्यवाद पनि दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्