
काठमाडौं– भारतीय उद्योग परिसंघ (सीआईआई) को आयोजनामा भक्तपुरमा नेपालकै ठूलो निर्माण उपकरण प्रदर्शनी ‘सिआईआई कन्म्याक २०१८’ शुरू भएको छ ।
भक्तपुरको सल्लाघारीस्थित ओपन ग्राउन्डमा बिहीवारदेखि शुरू भएको प्रदर्शनी शनिवारसम्म चल्ने छ । प्रदर्शनीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी उपस्थित थिए ।
नेपालस्थित भारतीय दूतावासको सहकार्यमा शुरू भएको ३ दिने प्रदर्शनीमा जेसीबी, एल एण्ड टी, हुन्डाई, केटरपिलर, टाटा हिटाचीजस्ता ठूला कम्पनीसहित भारतका १ सय ५० बढी कम्पनीले आफ्ना उत्पादन तथा सेवालाई प्रदर्शनीमा राखेका छन् ।
२ लाख वर्ग फिटभन्दा बढी क्षेत्रमा राखिएको प्रदर्शनी नेपालको सबैभन्दा ठूलो निर्माण उपकरण सम्बन्धी प्रदर्शनी हुने विश्वास गरिएको छ । ४ हजारभन्दा बढी व्यापारीले प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमा भारत तथा नेपालका निर्माण व्यवसायका अगुवा, व्यापारिक संघसंस्था तथा नेपाल सरकारका उच्च अधिकारीको पनि उपस्थिति रहेको थियो ।
पहिलेदेखि नै उच्च तहमा चलिआएको औद्योगिक सहकार्यलाई प्रर्दशनीले २ देशबीचको औद्योगिक र व्यापारिक सहकार्यलाई थप प्रगाढ गर्दै दुवै देशका उद्योगलाई जोड्ने लक्ष्य लिएको छ ।
भारत सरकारको सहभागितामा आयोजना भएको सीआईआई कन्म्याक २०१८ नेपालको पूर्वाधार क्षेत्रको तीव्र विकासका लागि ठूलो अवसर हुनेछ । प्रदर्शनीले विश्वस्तरको इन्फ्रास्ट्रक्चर निर्मातासँग अवसर र चुनौतीका विषयमा सहभागीलाई छलफल र संवादको अवसर पनि उपलब्ध गराउने जनाइएको छ ।