काठमाडौं, २० फागुन -मधेसी मोर्चाभित्र संविधान संशोधनको विषयलाई लिएर विवाद भएको छ । संशोधनविना निर्वाचनमा सहभागी नहुने मोर्चाको निर्णयविपरीत संघीय समाजवादी फोरमले निर्वाचन आयोगमा दल दर्ता गराएपछि मोर्चाभित्र विवाद उत्कर्षमा पुगेको खबर आजको नयाँ पत्रिकाले छापेको छ।

मोर्चाभित्र रहेका तीन विवाद
१ संशोधन विधेयकमाथि संशोधनउपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी संविधान संशोधनमाथि संशोधन राख्न नहुने भन्दै संशोधन दर्तामा सहभागी भएनन् । उनीहरूले मोर्चाले अस्वीकार गरेको संविधान संशोधनमाथि संशोधन दर्ता गराउनु गलत भएको टिप्पणी गरेका थिए । तर, मोर्चाका अन्य दलले संशोधनमाथि संशोधन दर्ता गराए । त्यही विषयलाई लिएर मोर्चामा विवाद छ ।
मोर्चामा आबद्ध राष्ट्रिय मधेस समाजवादी पार्टीका महामन्त्री केशव झाले फोरमले संशोधन दर्ता गराउन असहमति जनाएकाले सामान्य विवाद ल्याएको बताए । तर, फोरमका प्रमुख सचेत डा। शिवजी यादवले संशोधन दर्ता गर्ने नगर्ने कुरा पार्टीको आफ्नो मत भएको दाबी गरे ।
२ आयोगमा दल दर्तामोर्चाले स्थानीय तहको निर्वाचनमा सहभागी नहुने र निर्वाचन आयोगमा दल दर्ता नगर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मोर्चाआबद्ध अन्य दलले आयोगमा दल दर्ता गराएनन् । १८ फागुनभित्र दल दर्ता गराइसक्नुपर्ने थियो । तर, निर्णयविपरीत फोरमले आयोगमा दल दर्ता गराएको भन्दै मोर्चाका अन्य दल असन्तुष्ट छन् । मोर्चाआबद्ध दलका एक नेताको भनाइमा फोरमले मोर्चाभित्र द्वैध चरित्र देखाइरहेको छ । फोरमका प्रमुख सचेतक यादवले आयोगमा दल दर्ता गर्नु सामान्य कुरा भएकाले विवादको विषय बनाउन नहुने बताए ।
३ स्ववियु निर्वाचनमोर्चाले स्वतन्त्र विद्यार्थी युनियनमा सहभागी नहुने निर्णय गरेको रामसपाका महामन्त्री झाको भनाइ छ । तर, फोरमनिकट विद्यार्थी संगठन भने पहाडी जिल्लाका क्याम्पसमा सहभागी भएको छ । फोरमको यस्तो निर्णयले मोर्चामा विवाद ल्याएको उनीहरूको तर्क छ ।