
सपना, विचारा मेरो सपना !
कहिले उडान भर्छ निलो गगनभन्दा माथि ।
अनि कहिले पछारिन्छ भक्कानिँदै समातेर छाती ।।
कहिले पुग्न खोज्छ गन्तव्यको नजिक नजिक ।
अनि कहिले देख्छ कल्पना र वास्तविकताबीच दूरी अधिक ।।
कहिले नाँच्छ खुशी र उत्साहले छमछमी ।
अनि कहिले रुन्छ परिस्थिति र बाध्यताले कनीकनी ।।
सपना, विचारा मेरो सपना !
म निराश हुँदा सहानुभूति दर्शाउँछ शीर थप्थपाएर ।
उठाउन खोज्छ गिरेको मेरो आत्मविश्वास हौसलाको गीत गुनगुनाएर ।।
कहिले दिक्क मान्दै छोड्न खोज्छ साथ ।
शायद माया लाग्दो हो पुनः समाउन आइपुग्छ मेरै हात ।।
सपना, विचारा मेरो सपना !
छाड्दैन मलाई कहीँ, कहिल्यै, कतै एक्लै ।
ठान्दैन आफूलाई मबाट अलग र बेग्लै ।।
कहिले मुर्छित बन्छ असफलतारुपी गोलीहरूबाट ।
अनि कहिले बेइज्यती सहन्छ मान्छेका हतोत्साहित बोलीहरूबाट ।।
सपना, विचारा मेरो सपना !