१८ असार २०८३, बिहीबार

योगी आदित्यनाथले रेलको उद्घाटन गर्दा सार्वभौमिकतामा हस्तक्षेप हुन्छ–प्रदेश सांसद

मंसिर ७, २०७५
योगी आदित्यनाथले रेलको उद्घाटन गर्दा सार्वभौमिकतामा हस्तक्षेप हुन्छ–प्रदेश सांसद

जनकपुरधाम –नेपाल भारत रेलको उद्घाटन भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गर्नलागेको भन्दै प्रतिपक्षी सांसदहरुले प्रदेश सरकारसँग जवाफ माग गरेका छन् । 

कहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउने, कहिले गृह मन्त्री राजनाथ सिंह आउने, कहिले रेल मन्त्री सुरेश प्रभु आउने त कहिले मुख्यमन्त्री योगी आदित्यनाथ आएर रेल उदघाटन गर्ने भन्ने कुरा आइरहेको छ, त्यसमा यथार्थ के हो भन्दै नेकपाका सांसद सत्रुघन महतोले प्रदेश सरकारसँग जबाफ माग गरेका छन् । 

‘भारतको केन्द्रीय सरकारको अनुदानमा नेपालले रेल निर्माण गरेकाले त्यसको उद्घाटन पनि नेपालको संघिय सरकारको आयोजनामा भारतका केन्द्रीय सरकार मार्फत नै हुनुपर्छ,’ सांसद महतोले भने, ‘त्यस्तो हो भने नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ वा परराष्ट्र मन्त्री प्रदीप ज्ञवावालीले भारतीय समकक्षीलाई बोलाएर मात्रै रेल उदघाटन गरिनुपर्छ ।’

त्यसै गरी नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले पनि मुख्यमन्त्री योगीले रेल उदघाटन गर्ने कुरा बाहिर आइरहेकोमा आपत्ति जनाए । राम जानकी बिबाह पञ्चमीमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी भारतको अयोध्याबाट आउने साधु सन्तको जन्ती सरह जन्ती नै बनेर आउनुहुन्छ भने उहाँलाई हामी स्वागत गर्छौं, तर रेल उद्घाटन गर्नहुन्छ भने त्यसले राष्ट्रको सार्वभौममाथि हस्तक्षेप हुनेछ, सांसद चौधरीले भने । रेल उद्घाटन नै गर्नु छ भने भारतको केन्द्रीय सरकारले नेपालको केन्द्रिय सरकारको उपस्थितिमा मात्रै गर्नु पर्छ भन्दै सत्य तथ्य के हो भन्ने बारे उनले प्रदेश सरकारसंग माग गरे ।

त्यसै गरी राजपा नेपालका सांसद उपेन्द्र महतोले प्रतिपक्षी दलका नेताहरू जो बिगतमा सत्तामा थिए, उहाँहरूकै कारण धेरै पहिले रामजानकी बिबाह पञ्चमी महोत्सवमा जन्ती बनेर सहभागी हुन लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण असफल पारे जस्तै अहिले मुख्यमन्त्री योगीको भ्रमण असफल पार्न बिबादित बनाउन लागेको आरोप लगाए ।

प्रदेश सभामा बोल्दै सांसद महतोले भने, ‘भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण पछि भारतीय पर्यटकको संख्या धेरै नै बढेको र योगी आउँदा पनि धेरै नै पर्यटक बढ्ने हुनाले योगीको भ्रमणलाई बिबादमा परेर भ्रमण स्थगित पार्ने काम नहोस् ।’

जवाफमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले मिडियामा आईरहेको कुरा हावादारी रहेको बताए । रेल उद्घाटन वा रामजानकी बिबाहपञ्चमी महोत्सवमा को आउने वा रेल उदघाटन हुने नहुने बिषय प्रदेश सरकारको नभएकोले प्रदेश सरकारलाई कुनै पनि आधिकारिक जानकारी संघीय सरकारबाट प्राप्त हुन नसकेको बताए । परराष्ट्र सम्बन्धी मामिला भएकाले त्यसको आधिकारिक जबाफ संघीय सरकारले नै दिनेछ, प्रदेश सरकारलाई त्यस बारे आधिकारिक जानकारी हाल सम्म केही पनि छैन, मन्त्री यादवले भने ।

‘हो, यदी भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विवाह पञ्चमीमा आउंदै हुनुहुन्छ भने अतिथि देवो भवः अनुसार प्रदेश सरकार उहाँलाई भव्य र सभ्य तरिकाले सानदार स्वागत गर्न  भने तयार छ,’उनले भने । त्यो प्रदेश सरकारको आन, बान र शान समेतको कुरा भएकाले पनि प्रदेश सरकार भारतको कुनै पनि तहको सरकारलाई स्वागत गर्न तयार छ, मन्त्री यादवले बताए ।

कमेन्ट गर्नुहोस्