
विराटनगर – विराटनगरमा शनिवारबाट माउन्टेन फ्लाइट (पर्वतीय उडान) शुरू भएको छ ।
१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई सहितको टोलीले हिमालको अवलोकन गरेका हुन् ।
मुख्यमन्त्री राईसहित प्रदेश सरकारका मन्त्रीहरू सामाजिक विकास मन्त्री जीवन घिमिरे, आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बो, वन पर्यटन तथा वातावरण मन्त्री जगदीश कुसियेत सहभागी टोलीले पहिलो फ्लाइटबाट हिमालको रमाइलाले दृश्य अवलोकन गरेका छन् । पहिलो पटक यसअघि १ पटक मात्र विराटनगरबाट माउन्टेन फ्लाइट भएको थियो ।
शनिवारदेखि नियमित रुपमा हरेक शनिवार माउन्टेन फ्लाइट गर्ने गरी २२ जनाको टोली लिएर विराटनगरबाट उडेको थियो । बिहानको झुल्के घाम सहितको रमाइलो दृश्य हेर्नको लागि उडेको माउन्टेन फ्लाइट कञ्चनजंघा, मकालु, सगरमाथा हुँदै गौरीशंकरसम्म पुगेर सोही रुटबाट फर्किएको थियो ।
विराटनगरबाट ५५ मिनेटको यात्रा तय गरेको माउन्टेन फ्लाइटमा मुख्यमन्त्री, ३ जना मन्त्री, प्रदेशका प्रमुख सचिव, पर्यटन सचिव सहितका ३ जना सचिव, पर्यटन व्यवसायी र पत्रकार सहभागी थिए ।
माउन्टेन फ्लाइटबाट फर्किएलगत्तै प्रतिक्रिया दिँदै मुख्यमन्त्री राईले प्रदेशको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नको लागि पर्यटन व्यवसायीबाट शुरू भएको अभियानलाई निरन्तरता दिइने बताए । माउन्टेन फ्लाइटलाई निरन्तरता दिनको लागि संघीय सरकार, विभिन्न निकाय तथा स्थानीय तहसँग प्रदेश सरकारले सहकार्यको लागि पहल गरिने राईले बताए । उनले विराटनगर–पोखराको उडान चाँडै सुचारु गराउनेबारे पनि आफूले पहल गर्ने आश्वासन दिए ।
विराट होलिडेजको नाममा शुरू भएको माउन्टेन फ्लाइटलाई निरन्तरता दिनको लागि प्रदेश सरकारले विराटनगरबाट प्रदेशका सञ्चालनमा रहेका सबै विमानस्थलमा विमानको उडान शुरू गर्नुपर्ने व्यवसायीले माग गरे । प्रदेशका सञ्चालनमा रहेका १४ वटा विमानस्थलमा विराटनगरबाट ४ वटामा पनि नियमित उडान हुन नसकेको बताउँदै विराट होलिडेजका अध्यक्ष भविश श्रेष्ठले भोजपुर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बुको लुक्ला लगायतका फ्लाइट विराटनगरबाटै गराउन मुख्यमन्त्रीसँग माग गरे ।
पोखरा–विराटनगरका उडान हुने बित्तिकै धेरै चहलपहल विराटनगरसँग जोडिने र विराटनगरबाट भारत उडान अहिले पनि सहजै हुन सक्ने भएकाले त्यसको उडान तत्काल थाल्ने हो भने प्रदेशमा भारतीय पर्यटकको चहलपहल बढ्ने पर्यटन व्यवसायीको भनाई छ । त्यसको लागि पहिलो चरणमा अन्तर प्रदेश उडान र भारतको दिल्ली, कोलकता र गुहाटीको लागि अहिले नै फ्लाइट गर्न सकिने बताइएको छ ।
माउन्टेन फ्लाइट यसअघि काठमाडौंबाट मात्र हुँदै आएकोमा विराटनगरबाट पनि पर्यटन व्यवसायीको पहलमा शुरू भएको छ ।