२३ जेठ २०८३, शनिबार

लगानी डुब्दा पनि घटेन म्यूजिक भिडियोको क्रेज, नयाँ कलाकार थपिएका थपियै

मंसिर ८, २०७५
लगानी डुब्दा पनि घटेन म्यूजिक भिडियोको क्रेज, नयाँ कलाकार थपिएका थपियै

काठमाडौं – नेपालमा हरेक महिना १ सयभन्दा बढी म्यूजिक भिडियो सार्वजनिक हुन्छन् । तर ती भिडियोको लगानी वालुवामा पानी सरह छ ।

नाफाको त कुरै छाडौ । लगानीसमेत उठ्दैन । लगानी नउठ्दा किन यति धैरै म्यूजिक भिडियो बनिरहेका छन् त ?

‘पछिल्लो समय रहर पूरा गर्न गायक तथा मोडल बन्ने प्रवृत्ति बढेको छ,’ म्यूजिक भिडियो निर्देशक शिव विक भन्छन्, ‘म्यूजिक भिडियोमा लगानी गर्नेहरू ८० प्रतिशत नयाँ छन्, उनीहरूको उद्देश्य भनेकै सोख पूरा गर्नु हो ।’ 
त्यसबाहेक २० प्रतिशत व्यावसायिक गायकगायिका पनि गीतको भिडियोमा गरेको लगानीबाट सुरक्षित छैनन् ।

चर्चाको भोक मेट्न गायक र मोडल

प्रतिफलको आशमा लगानी गरिन्छ । तर म्यूजिक भिडियोमा लगानी गर्नेहरू नै नाफाको आश गर्दैनन् । म्यूजिक भिडियोमा लगानी गर्ने गायकगायिका र उत्पादक कम्पनी नै हुन्छन् । तर पछिल्लो समय अनुहार देखाउनकै लागि गायकगायिका र मोडल बन्ने प्रवृत्ति झाङ्गिदै गएको छ । 

काठमाडौं बागबजारमा व्यवसाय गर्ने नाम नखुलाउने एक युवा व्यवसायसँगै म्यूजिक भिडियोमा देखिने रहर राख्छन् । त्यही रहरमै उनले ३ लाख रुपैयाँ सिध्याए । २ वटा म्यूजिक भिडियोमा देखिएका उनी भन्छन्, ‘मैले म्यूजिक भिडियोमा गरेको लगानी सोख पूरा गर्नका लागि हो । त्यसकारण पनि नाफा नोक्सान हेर्दिन ।’

व्यस्त मध्येका एक भिडियो निर्देशक शिव विकका अनुसार एउटा भिडियो निर्माणका लागि ५० हजारदेखि ३ लाख रुपैयाँसम्म खर्च लाग्छ । मोडलिङ गर्ने, एल्वम निकाल्ने रहर भएकाले भिडियोमा खर्च गर्ने गरिएको उनले बताए ।

‘रहर हुनेहरू खर्च मात्रै गर्दैनन् । आफूले चाहेको कलाकारसँग स्क्रिन शेयर गर्न खोज्छन्,’ उनले भने, ‘आफूलाई चिनाउन आफैं लगानी गर्नु शुरूवातका लागि नराम्रो होइन । तर गीतसंगीत प्रतिको ज्ञान र क्षमता हुनुपर्यो ।’ 
क्षमता हुनेले शुरूमा आफ्नै लगानीबाट स्थापित हुने र पछि अरुले आफूमाथि लगानी गर्ने विश्वास गर्छन् । तर पैसाको मात्रै भरमा कला क्षेत्रमा लाग्नेले गर्दा समस्या निम्तिएको छ ।

सस्तो लोकप्रियताका लागि गीतसंगीत क्षेत्रमा आउने व्यक्तिका कारण विकृति भित्रिएको बताउँछन् वरिष्ठ गायक नारायण रायमाझी । उनी भन्छन्, ‘सस्तो लोकप्रियताले गीतसंगीत क्षेत्रमा केही विकृति भित्रिएको हो । तर त्यो धेरै समय टिक्दैन ।’ सर्जकको पछाडि धेरै अनुयायी हुने भएकाले सर्जकले समाजप्रति जिम्मेवार भएर आफ्ना सिर्जना प्रस्तुत गर्नुपर्ने उनी बताउँछन् ।

म्यूजिक कम्पनी नै खोज्छन् ‘मुर्गा’ लगानीकर्ता 

पछिल्लो समय यसरी म्यूजिक भिडियोमा लगानी गर्नेहरू वैदेशिक रोजगारमा रहेका वा फर्केका बढी हुन्छन् । आफ्नो नाम चर्चामा ल्याउन लगानी गर्छन् ।

एक निर्देशक भन्छन्, ‘म्यूजिक कम्पनीहरू नै लगानीकर्ता खोज्छन् । कम्पनी लगानीकर्तालाई नाम चर्चामा आउने र आम्दानी पनि राम्रै हुने प्रलोभनमा पार्छन् । अनि त्यस्ता नबुझेका लगानीकर्ताबाट लाखौं रुपैयाँ लिन्छन् । त्योमध्ये आधा रकम गोजीमै राख्छन्, आधा मात्र खर्च गर्छन् ।’ ८० प्रतिशत कम्पनी यसरी ‘मुर्गा’ फसाएरै चल्ने गरेको निर्देशकहरू बताउँछन् । यो प्रवृत्तिले म्यूजिक भिडियो स्तरीय बन्न चुकिरहेको सरोकारवाला बताउँछन् ।

चलेका मोडललाई ‘मालामाल’

आत्मसन्तुष्टिका लागि म्यूजिक भिडियो निर्माण गर्नेकै कारण चलेका मोडल मालामाल छन् । एक लगानीकर्ताले पल शाह र आँचल शर्मालाई आफ्नो म्यूजिक भिडियोमा अभिनय गराउन चाहे । उनीहरूका लागि १ लाख रुपैयाँ बजेट छुट्याए । तर यी दुवैले आफ्ना लागि बजेट कम भएको बताउँदै म्यूजिक भिडियोमा काम गर्न चाहेनन् । 

नयाँको उद्देश्य लगानी गरेर चलेका मोडलसँग स्क्रिन शेयर गर्ने हुन्छ । जसकारण चलेका मोडल मालामाल छन् । मोडलले एउटा म्यूजिक भिडियोमा १० हजारदेखि ८० हजार रुपैयाँसम्म लिने गर्छन् । म्यूजिक भिडियोबाट निर्देशक लगायत प्राविधिक पनि राम्रो आम्दानी गर्छन् । 

शब्दमा छैन मेहनत

एउटा गीत राम्रो बन्न के–के कुरा चाहिन्छ ? गीतसंगीत प्रेमीले बुझेको कुरा हो – शब्द, संगीत, गायन, भिडियोमा कलाकार, निर्देशन, छायांकन, सम्पादन । उत्कृष्ट गीत बन्न यी सबै पक्षको गतिलो समिश्रण आवश्यक छ ।

पछिल्लो समय रेकर्डिङ लगायत प्राविधिक पाटो सुधारोन्मुख छ । तर गीतको मेरुदण्ड मानिने शब्दमा मेहनत कम हुँदा अधिकांश गीत बर्खे भेलसरह आएको र गएको पत्तो हुँदैन । शब्द कुनैपनि गीतको मेरुदण्ड हो । गीत राम्रो बन्न शुरूमा शब्द राम्रो हुनु आवश्यक छ । अनि मात्र संगीत, गायन आउँछ ।

‘हामीहरू एउटा गीत निर्माण गर्दा गायकगायिकालाई ५० हजार रुपैयाँसम्म दिन्छौं । कलाकारलाई हजारौं, भिडियो निर्माणमा लाखौं रुपैयाँ खर्चिन्छौं,’ एक निर्माताले भने, ‘गायकगायिकाको पारिश्रमिक र भिडियो निर्माणमा लाखौं खर्च गरेर स्तरीय गीत र त्यसको भिडियो बनाउनु राम्रो हो । तर यी कुरामा लाखौं खर्च गर्दा गीतको मेरुदण्ड मानिने शब्दमा हामी कति मेहनत गरिरहेका छौं । त्यो सोच्नुपर्ने अवस्था छ ।’

लाखौं खर्चिएका गीतमा शब्दलाई कति समय र मूल्य दिन्छौं ? गम्भीर हुनु आवश्यक रहेको स्वीकार्छन् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष रमेश बिजी ।

गीतको ‘आत्मा’ शब्दमा हुने बताउँदै पछिल्लो समयमा अधिकांश गीत ‘आत्मा’ मारेर बन्ने गरेको उनको बुझाइ छ । भन्छन्, ‘शब्दमा मेहनत नपुग्दा गीत राम्रो बन्नबाट चुकिरहेका छन् । गीत गाउने गायकगायिकालाई हामीहरू १० देखि ५० हजार रुपैयाँ दिन तयार हुन्छौं । भिडियोको लागि २ लाख रुपैयाँसम्म खर्च गर्न तयार हुन्छौं । तर शब्दमा हामी खर्च गर्न खोज्दैनौं ।’ शब्दमा मेहनत नगरी लाखौं रुपैयाँ खर्च गरेर बनाइएका गीत समेत स्रोता र दर्शकको नजरमा पर्दैनन् ।

यूट्युब आत्मसन्तुष्टि

आजभोलि गीतहरू टेलिभिजन र रेडियो छनोट भएर मात्र बज्छन् । यूट्यूबमा भने गीत दिनहुँ सार्वजजिक भएका हुन्छन् । गीत चलेको नचलेको भन्ने माध्यम सबैले ‘यूट्युब’लाई ठान्छन् ।

यूट्यूबमा सार्वजनिक गीतले लाखौं दर्शक पनि पाएका छन् । तर यूटयूबबाट दर्शकको आधारमा पैसा आउँछ भन्नु ‘बाहिरी हल्ला’ मात्रै रहेको बताउँछन् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनी । भन्छन् ‘व्यावसायिक गायकगायिकाका लागि पनि म्यूजिक भिडियो निर्माण गरेर यूट्युबमा अपलोड गर्नु बाध्यता र आत्मसन्तुष्टिको बाटो मात्र हो ।’ आजभोलि आफ्नो गीतलाई फेसबुकमा ‘वुस्ट’ गरेर ‘भ्यूज’ बढाउने प्रचलन पनि बढ्दो छ । जसका कारण यूटयुबमा पनि गीतको सही मूल्यांकन हुन सकिरहेको छैन ।

रहरमा गायक बन्ने, मोडलिङ गर्ने, निर्देशन गर्ने, शब्द, संगीत, स्वर लगायत समग्र भिडियो निर्माणमा मेहनत नगर्ने, यूट्युव भिडियोलाई बुस्ट गर्नेजस्ता प्रवृत्ति बढेसँगै गीतहरू स्रोता र दर्शकको नजरमा ‘उत्कृष्ट’ बन्नबाट चुकिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्