काठमाडौं, १८ फागुन – चलचित्र 'लूट २' ले एक हप्ता नहुँदै को ६ करोड ८ लाखको व्यापार गरेको छ । काठमाडौं लगायत देशका विभिन्न शहरमा एकसाथ चलिरहेको ‘लूट २’ ले पहिलो दिनको तुलनामा भने केही औसत व्यापार गरिरहेको छ ।

दर्शकको मिश्रित प्रतिक्रिया पाइरहेको चलचित्रले व्यापार राम्रो गरिरहेको निर्माण पक्षले जनाएको छ । चलचित्रले उपत्यकामा मात्र ४ करोड आठ लाखको व्यापार गरेको र उपत्यका बाहिर २ करोडको व्यापार गरेको निर्माता माधव वाग्लेले जनाएका छन् । ‘केही दुई चार व्यक्तिलाई चलचित्र राम्रो नलाग्नु उहाँहरुको व्यक्तिगत धारणा हो । तर चलचित्र राम्रो छ ।’ उनले बताए ।
चलचित्रको उत्साहजनक व्यापारले निर्माण पक्ष हौसिएको छ । यसको सिक्वेल ‘लूट ३’ निर्माण गर्ने पक्का भएपनि कहिले र कस्तो बनाउने भन्ने योजना अझै नबनेको वाग्लेले बताए ।