२७ असार २०८३, शनिबार

लेखा समितिका सभापतिको प्रश्न- २४ अर्बको जहाज खरिदमा ६ अर्ब ५९ करोड घोटाला ?

लेखा समितिका सभापतिको प्रश्न- २४ अर्बको जहाज खरिदमा ६ अर्ब ५९ करोड घोटाला ?
लेखा समिति बैठक : फाइल तश्वीर

काठमाडौं – नेपाल वायु सेवा निगमको वाइड बडी (विमान) खरिद प्रकरणमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन शुरू गरेको छ । समिति सभापति भरत शाहले २४ *अर्बको जहाज खरिदमा ६ अर्ब ५९ करोड घोटालाको आशंका व्यक्त गरेका छन् ।

संसद सचिवालय सिंहदरबार आइतवार बसेको समिति बैठकमा सभापति शाहले लिखित मन्तव्य राख्दै ६ अर्ब ५९ करोड घोटाला भएको आशंका व्यक्त गरेका हुन् ।

ʻहवाइ सेवामा संलग्न व्यवसायीहरूका अनुसार हवाइजहाज खरिदमा उत्पादकले क्रेतालाई १० प्रतिशत कमिसन दिने गर्दछन् भनिन्छ, तर २४ अर्बको खरिदमा नेपाल वायुसेवा निगमलाई आउनु पर्ने २ अर्ब ४० करोड कता गयो ?ʼ

विमान खरिदमा संलग्न निगमका महाप्रबन्धक सुगतरत्न कशांकार तथा पर्यटन मन्त्रालयका सचिव समेत उपस्थित बैठकमा सभापति शाहले प्रश्न गरे, ʻकमिसन, अधिकतम उडान भार कटौती र मूल्यान्तर गरी २४ अर्बको खरिदमा ६ अर्ब ५९ करोड घोटाला भएको देखिन्छ, यसमा निगमको भनाइ के छ ?ʼ

सभापति शाहले मन्त्रालयको भूमिकामा समेत प्रश्न उठाएका छन् । ʻसचिवज्यू निगमको अध्यक्ष रहेको बेलामा नै वाइडबडी खरिदका अर्बौं रकम निगमले बिक्रेता पक्षलाई भुक्तानी गरेको छ । खरिद प्रक्रिया सम्बन्धमा के छ धारणा ?ʼ

यसअघि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समेत निगमनको जहाज खरिद प्रकरणबारे छानबिन गरिरहेको छ ।

* सच्याइएको ।

salt training

कमेन्ट गर्नुहोस्