
धनगढी– लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आज (आइतवार) देखि विश्वभर सुरु भएको छ ।
लैंगिकतामा आधारित हिंसा विरुद्ध विश्वभर मनाइने १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म (१६ दिन) मनाइने गरिन्छ ।
चालू वर्ष विश्वभर ‘ओरेन्ज द वल्ड’ को नारा तथा ‘हृयाजहिअरमिटू अर्थात हृयाजमेरोपनिसुन’ ट्रेडिङका साथ अभियान मनाईंदै छ ।
नेपालमा भने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ‘लैंगिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ अभियान मनाउँदै छ ।
अभियानको अवसरमा सुदूरपश्चिम प्रदेश र युएनआर्इटीइको संयुक्त आयोजनामा आइतवार धनगढीमा आयोजित कार्यक्रममा प्रदेश सभा सभामुख अर्जुनबहादुर थापाले प्रदेशलाई हिंसामुक्त प्रदेश बनाउनमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए । प्रदेशमा अझैपनि छाउपडी, बोक्सी, जातीय विभेद, छोराछोरीमा हुने विभेदलगायतका हिंसा विद्यमान रहेको बताउँदै सभामुख थापाले सबै अग्रसर हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश उपसभामुख निर्मला बडाल जोशीले अहिलेपनि महिलाहरु समाजिक, राजनीतिक, शैक्षिक र आर्थिक हिंसाका सिकार भइरहेको बताइन् । उनले भनिन् ‘महिला जन्मदेखि मृत्युसम्म एक खाले हिंसा भोग्नुपर्ने अवस्था छ ।’
‘बच्चा जन्मेपछि समाजले सोध्ने पहिलो प्रश्न के भयो छोरा या छोरी ? छोरी भन्ने वित्तिकै जन्मदिनेलाई बधाई समेत दिन आउदैन । त्यो पनि हिंसा/विभेद हो ।’ उप सभामुख बडालले भनिन् । उनले यो अभियानमा महिला मात्रै नभएर पुरुषहरुको पनि सक्रिय सहभागिताको लागि अनुरोध गर्दै सुदूरपश्चिम प्रदेशलाई हिंसा मुक्त बनाउन सबैको हातेमालो आवश्यक रहेको बताईन् ।

के हो १६ दिने अभियान ?
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सन् १९९१ देखि सुरु भएको हो । यसको मुख्य उद्देश्य लैंगिकतामा आधारित सबैखाले हिंसा र अपराधलाई अन्त्य गरी महिला र पुरुषबीचको असमानता हटाउनु हो ।
यो अभियानको सुरुवाती विभिन्न २० देशका २३ जना उत्साहित महिलाको सहभागितामा भएको थियो । हाल यो अभियान विश्वभर मनाउने गरिन्छ ।
अभियानको थालनीको एक कारण १९६० नेभेम्बर २५ तारेखका दिन डोमिनिक रिपब्लिकका तानशाहले आफ्नो सरकार विरुद्ध आन्दोलन गर्ने एकै परिवारका ३ दिदीबहिनीलाई गरेको हत्यालाई पनि लिइने गरिन्छ ।
ती दिदीबहिनीको साहासलाई सम्मान गर्दै ल्याटिन अमेरिकी देशहरुबाट नोभेम्बर २५ कै दिनलाई अभियानको रुपमा मनाउन थालिएको हो । भने संयुक्त राष्ट्रसंघको साधारण सभाले १७ डिसेम्बर १९९९ मा मात्रै यस दिनलाई अन्तर्र्रािष्ट्रय महिला हिंसा विरुद्धको दिवसको औपचारिक मान्यता दिएको थियो ।