२० असार २०८३, शनिबार

रंगेलीको इस्लामिया आधारभूत विद्यालयको नवनिर्मित २ कोठे भवनको उद्घाटन

मंसिर ११, २०७५
रंगेलीको इस्लामिया आधारभूत विद्यालयको नवनिर्मित २ कोठे भवनको उद्घाटन

विराटनगर – मोरङको रंगेली नगरपालिका–७ मा रहेका इस्लामिया आधारभूत विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

विद्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरेर नवनिर्मित २ कोठे भवनको १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री घिमिरेले शिक्षा क्षेत्रको काम सामाजिक विकास मन्त्रालयले गर्ने भएकाले विद्यालयले दिने परिणामको आधारमा सहयोग गरिने बताए । अब विद्यालयले शिक्षा क्षेत्र अब्बल बनाउनको लागि लाग्नुपर्ने भन्दै धार्मिक विद्यालयको नतिजा पनि राम्रो भएकाले मन्त्रालयको तर्फबाट गर्न सकिने सहयोग गर्न तयार रहेको बताए ।

विक्रम सम्वत् २०१९ सालमा स्थापना भएको विद्यालय भौतिक रुपमा जीर्ण भएको कारण १६ लाखको लागतमा २ कोठे पक्की भवन निर्माण भएको हो । शिक्षा विकास तथा समन्वय इकाई मोरङको आर्थिक सहयोगमा विद्यालय निर्माण भएको हो । २ लाख ५ हजार रुपैयाँ चन्दा संकलन गरेर भवन निर्माण सम्पन्न गरिएको इस्लामिया आधारभूत विद्यालयका अध्यक्ष मोहम्मद अजिम आलमले बताए ।

विद्यालयमा रंगेली आसपासका मुस्लिम समुदायका १ सय ३० जना बालबालिका अध्ययनरत छन् । सरकारले प्रत्येक वर्ष विद्यालय पाठ्यपुस्तकमा ठूलो रकम उपलब्ध गराएको भएपनि रकम विद्यालयका लागि अपुग भएको उनले बताए ।

धार्मिक पुस्तकका लागि वार्षिक ४० हजारदेखि ५० हजार रुपैयाँसम्म थप रकम  चन्दा संकलन गरी किन्नुपर्ने बाध्यता रहेको आलमले बताए । सरकारले दिने सेवासुविधाबाट मुस्लिम समुदायको विद्यालयलाई  विभेद गरेको उनले आरोप  लगाए ।

salt training

कमेन्ट गर्नुहोस्