२३ जेठ २०८३, शनिबार

विवाद चर्किएसँगै राजपामा देखियो पार्टी विभाजनको रेखा

मंसिर १२, २०७५
विवाद चर्किएसँगै राजपामा देखियो पार्टी विभाजनको रेखा

काठमाडौं–महन्थ ठाकुरलाई अध्यक्षमण्डलको संयोजकबाट हटाएर राजेन्द्र महतोलाई चुनेपछि राजपा विवाद उत्कर्षमा पुगेको छ । 

विधान अनुसार अध्यक्षमण्डलका ६ सदस्यहरुबाट चक्रीय प्रणालीमा दुई दुई महिना पार्टीको नेतृत्व गर्ने प्रावधान रहेको छ । तर पार्टी स्थापना भएको डेढ वर्षसम्म महन्थ ठाकुर एक्लैले संयोजकको जिम्मेवारी लिएका थिए ।

‘महाधिवेशन नजिकिएको समयमा राजपामा एकाएक संयोजक परिवर्तन गरिनु नै विवादको जड हो’ महन्थ पक्षीय नेता डाक्टर सुरेन्द्र झा भन्छन्‘‘राजपामा किर्ते तरिकाले संयोजक चुनिएको छ, र यो गम्भीर षड्यन्त्र हो ।’

केपी ओली नेतृत्वको सरकारलाई समर्थन मात्र गरेको तर सहभागी नभएको राजपामा सरकार गठनको समयदेखि नै सहभागी हुने कि नहुने भन्ने विवाद थियो । श्रोत भन्छ, ‘संविधान संशोधनको सुनिश्चितता नभई सरकारमा सहभागी नहुने पक्षमा महन्थ ठाकुर रहेका छन् भने राजेन्द्र महतो र महतो पक्षीय नेताहरू जे सुकै भएपनि सरकारमा सहभागी हुनुपर्ने पक्षमा रहेका छन् ।’ ठाकुर संयोजक रहेसम्म सरकारमा सहभागी हुन नपाउने भएपछि एकाएक संयोजक परिवर्तन गरिएको ठाकुर पक्षले आरोप लगाएको छ ।

विवादको अर्को जड भनेको महाधिवेशनपछि पार्टी नेतृत्व कब्जा गर्ने उद्देश्यले महतोलाई संयोजक बनाइएको आरोप ठाकुरपक्षीय नेताहरूले लगाउने गरेका छन् । महतोलाई आफ्नो पक्षका कार्यकर्तालाई नेतृत्वमा ल्याउनको लागि पार्टीको प्रदेश चुनाव स्थगन गर्न र सबै जिल्लामा आफू पक्षीय नेतालाई इन्चार्ज बनाउने तयारी गरेको आरोप लाग्ने गरेको छ । महतो पक्षीय नेताहरू भने विधानमै उल्लेख रहेको चक्रीय प्रणाली लागू गरेर पार्टीले नियम कानून र विधान मानेर अघि बढ्ने संकेत गरेको भन्दै आरोपप्रति कुनै टिप्पणी नरहेको बताउँछन् । 

नयाँ संयोजक तोकिएपछि महतोले आफूले सबैलाई मलिाएर लैजाने बताएका थिए । उनले आफ्नो नेतृत्वमा राजपालाई अझ सशक्त बनाउने बताउँदै आएका छन् । ‘अबको राजपा नेपाल अझ सशक्त, सक्रिय, पारदर्शी र अनुशासित ढंगले अगाडि बढाउने कुरामा म लागिपर्नेछु । त्यसका लागि सबैसँगको सहकार्य समदूरीका हिसबले निरन्तर हुनेछ ’ महतोले भने । 

उनले अबको आफ्नो मुख्य काम आगामी महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्ने भएको बताएका छन् । उनले भने,‘मेरो अबको मुख्य काम भनेको आगामी महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने नै हो । त्यसका लागि मैले पार्टी तर्फबाट गर्नुपर्ने काम अत्यन्तै जिम्मेवारीपूर्वक गर्नु नै हो ।’

विभाजनको रेखा

विवाद बढेसँगै राजपा नेपाल भित्र पार्टी विभाजनको रेखा देखापरेको छ । 

अध्यक्षमण्डलका एक सदस्य तथा महतोपक्षीय नेता महेन्द्र राय यादवले महन्थ ठाकुरले पार्टीलाई जातिवादी बनाएको आरोप संचार माध्यममार्फत लगाएपछि उत्पन्न भएको विवादले पार्टी विभाजनको नजिक पुगेको राजपाकै नेताहरू बताउँछन् । 

मनोनित पार्टी महासचिव डाक्टर सुरेन्द्र कुमार झा भन्छन्, ‘महेन्द्रजीले तीन वटा सीट पाउनु भएको थियो । उहाँ आफै यादव हुनुहुन्छ । राष्ट्रियसभामा अर्को यादवलाई पठाउनु भयो । प्रदेशसभामा अर्को यादवलाई मन्त्री बनाउनु भएको छ । तीनवटा कोटा पाउँदा तीनजना नै यादवलाई गर्नु भएको छ । यस्तो मान्छेले जातिवादको आरोप लगाउन मिल्छ ? वहाँलाई कडा भन्दा कडा कारवाही गरिनुपर्छ ।’ 

गत सोमवार बोलाइएको अध्यक्षमण्डलको बैठक अन्तिम समयमा आएर राजकिशोर यादव अनुपस्थित रहेको भन्दै स्थगित गरियो । आफूलाई संयोजकबाट हटाइएपछि अहिले महन्थ ठाकुर नै बैठकमा सहभागी हुन नचाहेको महतो पक्षीय नेताको आरोप छ ।  

राजपाको संयोजकबाट हटाइएपछि ठाकुर आफ्नो पुरानो पार्टी तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमै बस्न शुरू गरेको राजपाका एक नेताले बताए । राजपाको झण्डा फहराइएको र उक्त कार्यालयमा काटिएको टेलिफोन लाइन पनि जोडिएको छ । उनी तमलोपाका पूर्व नेता कार्यकर्तासँगको निकट सम्बन्ध र छलफलमा केन्द्रीत रहेको श्रोतको दाबी छ ।

राजपामा विवाद समाधान नभए विकल्प विभाजन तर्फ नै मोडिने राजपाका एक नेताले बताए ।

salt training

कमेन्ट गर्नुहोस्