
काठमाडौं — उत्तर कोरियाको मानवअधिकार रेकर्डमाथि चर्चा गर्नका लागि अमेरिकाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बोलाउन अनुरोध गरेको छ । यसलाई उत्तरले विरोध गरेको छ ।
सुरक्षा परिषद्का सदस्यहरूलाई यो बैठक रोक्न उत्तर कोरियाले जोड दिएको छ । यसरी बैठक बोलाउँदा हाल चलिरहेको शान्ति कदममा हानि पुग्ने उसको मान्यता छ ।
राष्ट्रसंघमा उत्तर कोरियाका राजदूत किम सोङले परिषद्लाई मंगलवार पत्र पठाउँदै खेद जनाएका छन् । डिसेम्बर १० मा हुने भनिएको त्यो बैठकले शान्ति प्रक्रियामा बाधा ल्याउने उनको भनाइ छ ।
अमेरिकाको प्रस्ताव सुरक्षा परिषद्ले मानेमा उत्तर कोरियाले गरेको मानअधिकार उल्लंघनका विषयमा परिषद्को यो पाँचौं वार्षिक बैठक हुनेछ ।
अमेरिका सन् २०१४ देखि हरेक वर्ष चीनको विरोधका बावजूद बैठकका लागि आवश्यक नौ भोट जुटाउन सफल रहने गरेको छ ।
किम सोङले उत्तर कोरियामा मानवअधिकार उल्लंघनका विषयमा राष्ट्रसंघीय मानवअधिकार प्रमुख मिसेल बेसलेटलाई सुरक्षा परिषदमा सम्बोधन गर्न अमेरिकाले दिएको निम्तो आफूविरुद्धको षड्यन्त्र भएको बताए ।
एजेन्सी