
काठमाडौं, २० फागुन– भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले नेपालको चुनावलाई लिएर भारतको कुनै पनि असन्तुष्टि नरहेकोे स्पष्ट पारेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राजदूत उपाध्यायले भने,‘भारतले चुनावको कुनैपनि विरोध गरेको छैन, नेपालको संसद र मन्त्रिपरिषदले गरेको निर्णयलाई अरुलाई दोष दिएर हामी उम्कन मिल्दैन, त्यसैले अरुलाई दोष लगाउने बानीबाट नेपाल मुक्त हुनुपर्छ, र स्थानीय तहको निर्वाचन हुनैपर्छ, भारतले नेपालमा हुन लागेको चुनावको अहिलेसम्म कुनै विरोध गरेको छैन, र म सँगपनि कुनै असहमति व्यक्त गरेको छैन्।’
उनले लोकतन्त्रको सुन्दर पक्ष भनेको नै चुनाव भएको जिकिर गर्दै भने,‘अब चुनाव हुनुपर्छ, त्यो आँफैले गर्ने हो, भारतलाई दोष दिएर हामी उम्कन मिल्दैन्।’
साक्षात्कारमा बोल्दै राजदूत उपाध्यायले राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणपनि छिट्टै हुने विश्वास दिलाए। उनले थपे,‘राष्ट्रपतिको भारत भ्रमणको लागि दुवै तर्फ प्रयत्नशील छौं, गृहकार्य अन्तिम चरणमा पुगेको छ, भ्रमण मिति छिट्टै घोषणा हुन्छ।’