
काठमाडौं– एसिया प्यासिफिक (प्रशान्त) सम्मेलनमा सहभागी हुन आएका विशिष्ट पाहुनाका कारण काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ ।
सम्मेलनमा सहभागी हुन म्यानमारकी नेतृ आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आइसकेका छन् भने अन्य देशका विशिष्ट पाहुना आउने क्रम पनि शुरु भएको छ ।
विशिष्ट व्यक्तिको सवारीका कारण काठमाडौंका केही ठाउँमा सडकहरु दुईतर्फी रुपमै बन्द हुने भएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अबको केही समयसम्म सोल्टीमोड–कालिमाटी–टेकु–त्रिपुरेश्वर– नागस्थान–महाँकाल–रत्नपार्क–पुरानो बसपार्क सडकखण्ड दुईतर्फी रुपमै बन्द हुने छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उक्त मार्ग भएर चल्ने सवारी साधनहरुले वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।