
काठमाडौं — भारतको अन्डमान निकोबार टापु समूहको नर्थ सेन्टिनेल आइल्यान्डमा अमेरिकी नागरिक जोन एलन चाउलाई नोभेम्बर १७ मा हत्या भएको छ । तर प्रहरीले अझै पनि उनको लाश फेला पार्न सकेको छैन ।
सर्भाइभल इन्टरनेसनल नामक संस्थाले प्रहरीलाई अमेरिकीको शरीर प्राप्त गर्ने प्रयास बन्द गर्न भनेको छ । उनको शव हासिल गर्ने प्रयास जनजाति र प्रहरी दुवैका लागि अत्यन्तै खतरनाक साबित हुने संस्थाको विश्वास छ ।
सेन्टिनेल टापुका आदिवासीहरू बाहिरको मानिस देख्नेबित्तिकै वाण हान्न थाल्छन् । क्रिस्चियन धर्मप्रचारक चाउलाई पनि वाण हानेर हत्या गरिएको कुरा सार्वजनिक भएको थियो ।
चाउले सेन्टिनेलका आदिवासीहरूसँग सम्पर्क राख्ने जिद्दी लिएका थिए । उनीहरूलाई इसाइ धर्म अपनाउनका लागि फकाउने उनको योजना थियो ।
चाउले आदिवासीहरूमाझ जानका लागि आफ्ना सामान्य कपडा खोलेका थिए । उनी जम्मा एउटा अन्डरवीयर लगाएर आदिवासीकहाँ पुगेको बताइएको छ । यसो गर्दा आदिवासीहरूले उनलाई आफ्नो निकटवर्ती सम्झिने उनको
विश्वास रहेको बताइएको छ ।
एक रिपोर्टअनुसार, चाउले आदिवासीहरूसँग भेटघाट गर्नुअघि सेन्टिनेल टापुमा एउटा झोला लुकाएका थिए । एक अनुसन्धान अधिकारीले नाम नबताउने शर्तमा बताएअनुसार, चाउले टापुमा लुकाएको झोलामा पासपोर्ट, कपडा,
प्राथमिक उपचार सामग्री र अन्य आवश्यक सामान राखेका थिए ।
अन्डमान र निकोबार प्रहरी नर्थ सेन्टिनेल टापु जाने प्रयास गरेको भएपनि सफलता प्राप्त गरेको छैन । प्रहरी अधिकारीहरूको डुंगा टापुनजिक पुग्दा आदिवासीहरू धनुवाण लिएर उभिएको भेटे ।
टापु समूहका डीजीपी दीपेन्द्र पाठकले ट्विटरमा लेख्दै यो अहिलेसम्मकै सबभन्दा चुनौतीपूर्ण मुद्दा रहेको बताए । पाठकका अनुसार, प्रहरीको डुंगा ४०० मिटरको दूरीमा हुँदा आदिवासीहरू धनुवाण लिएर उभिएका थिए ।
नर्थ सेन्टिनेल टापुमा बस्ने आदिवासीका बारेमा कसैसँग पनि धेरै जानकारी छैन । भारत सरकारले उनीहरूलाई संरक्षित आदिवासी घोषणा गरेको छ । कुनै पनि बाहिरी व्यक्तिलाई उनीहरूसँग सम्पर्क गर्न प्रतिबन्ध लगाइएको छ ।
उनीहरूसँग फोटो र भिडियो खिच्न पनि गैरकानूनी छ ।
यी आदिवासीहरूसँग बाहिरका मानिसले सम्पर्क गर्न खोज्दा असफल भएका थिए । उनीहरूको भाषा बुझ्नै मुश्किल छ ।
उनीहरू पैसाको प्रयोग पनि गर्दैनन् । उनीहरूको संख्या ५० रहेको मानिन्छ । उनीहरूमाथि मुद्दा चलाउन पनि नसकिने बताइएको छ ।
खासमा आदिवासीहरूले बाहिरका कसैसँग पनि सम्पर्क गर्न नचाहनु बुद्धिमत्तापूर्ण निर्णय हो । अंग्रेज उपनिवेशवादीहरूले विभिन्न टापुलाई उपनिवेश बनाएपछि त्यहाँ बस्ने आदिवासीको संहार गरेका थिए । आदिवासीहरूमा
सामान्य रोगसँग लड्ने क्षमता पनि कम हुने भएकाले बाहिरबाट आएका मानिसबाट रोग नसार्न उनीहरू सचेत छन् ।
एजेन्सी