
काठमाडौँ– गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरिया(प्रजग) का राजदूत किम योङ हकले शिष्टाचार भेट गरेका छन् ।
गृह मन्त्रालयमा आज भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो ।
आफ्नो कार्यकाल सकेर केही दिनमै स्वदेश फर्कनु लागेका राजदूत हकलाई गृहमन्त्री थापाले नेपालमा उनको सफल कार्यकालका लागि धन्यवाद व्यक्त गर्दै आगामी यात्राका लागि शुभकामना दिए । राजदूत हकले आफ्नो कार्यकालमा नेपाल र कोरियाबीच सम्बन्ध विस्तारका लागि महत्वपूर्ण भूमिका खेलेको गृहमन्त्री थापाले उल्लेख गरे ।
भेटमा राजदूत हकले आफ्नो नेपाल बसाई सुखद् रहेको बताउँदै नेपाल र कोरियाको सम्बन्धलाई थप उचाइमा पुर्याउनुपर्नेमा जोड दिए । उनले गृहमन्त्री थापालाई कोरिया भ्रमणको निम्तो समेत दिए ।