
काठमाडौं–मालिकसँग भएको विवादपछि एक कामदारले गम्भीर अपराध गरेका छन् । काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र–ऐश्वर्यमार्गमा रहेको स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रवीण कुँवरका सवारी चालक महेन्द्र एसके (सार्की)ले आठ वर्षीया अबोध बालक प्रयास कुँवरकोे हत्या गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धीरजप्रताप सिंहका अनुसार स्याङ्जा भिरकोट नगरपालिका–७ घर भएका एसकेले तलब र जागीरको विवादका कारण प्रवीणका छोरा प्रयासको अपहरणपछि हत्या गरेका हुन् । उनी एक महीनादेखि उक्त गेष्ट हाउसमा सवारी चालकका रुपमा कार्यरत थिए ।
घटनामा संलग्न रहेको आशङ्कामा बिहिबार दिउँसो पक्राउ गरी सोधपुछ गर्दा सो रहस्य बाहिर आएको प्रहरीले जनाएको छ । बालक बेपत्ता भएको उजुरी परेपछि दुई दिनदेखि प्रहरीले उनको खोजी तीव्र पारेको थियो । महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले अभियुक्तले फिरौती माग गरे÷नगरेकोबो भने खुल्न बाँकी रहेको बताए ।
मालिकले गालीगलौज गर्ने, बालकले पनि घृणा गर्ने र प्रविणसँग जागीर र तलबका विषयमा विवाद भएपछि आवेगमा हत्या गरेको अभियुक्तले स्वीकारेको उनले बताए ।
उनले मङ्सिर ११ गते होटलमा कोही नभएका बेला चकलेट खान दिई आफ्नै गाडीमा हालेर प्रयासको अपहरण गरेका थिए । सोही दिन बेलुका ६ः४५ बजे नागर्जुनको जङ्गलमा लगेर नाँक, मुख थुुनी घाँटी थिचेर हत्या गरी सामाखुसी खोलामा फ्याँकेको प्रहरीले जनाएको छ ।
त्यसपछि होटलमा आएर उनले बालकको खोजतलासमा सहयोग गरेकोसमेत प्रहरीले जनाएको छ । उनको बयानका आधारमा खोजी गर्दा गोङ्गबुको म्हैपी पुलमुनि बालकको शव फेला परेको थियो ।
रुप ज्योतिको ठगी धन्दा
तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासन कालमा ‘अर्थमन्त्री’ बनेका शक्तिशाली व्यापारी डा रुप ज्योतिको ठगी काण्डमा मुछिएका छन् ।
काठमाडौं महानगरपालिका–२६ गल्कोपाखाका बिज्ञेन्द्रकृष्ण मल्लसँग हाउजिङ बिक्रीका लागि रकम लिएको तर हस्तान्तरण नगरी ठगी गरेको आरोप रुप ज्योतिमाथि छ ।
हाउजिङ खरिदका लागि रुप ज्योतिको कम्पनी ल्यान्डमार्क डेम्लपर्स प्रालिलाई मल्लले २ करोड ७० लाख रुपैयाँ बुझाएको बताइएको छ।
तर, रकम बुझाइसकेपछि पनि हाउजिङ दिनुको साटो रुप ज्योतिले उल्टै बिज्ञेन्द्रकृष्णले आफूविरुद्ध प्रहरीमा उजुरी दिनसक्ने भन्दै अदालतमा निषेध आज्ञाको उजुरी दिएको जनाइएको छ ।
यसबीचमा बिज्ञेन्द्रकृष्णले एक साताअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा रुप ज्योतिविरुद्ध ठगी मुद्दाको उजुरी दायर गरेका छन् । प्रहरीले भने आफ्नो उजुरीका विषयमा गम्भीर रुपमा छानबिन प्रक्रिया अगाडि नबढाएको बिज्ञेन्द्रकृष्णको गुनासो छ ।
‘घर दिन्छु भनेर २ करोड ७० लाख रुपैयाँ बुझेको मानिसले ठगी गरेका छैन भन्दै प्रहरीले अनुसन्धान नै गर्न मानेको छैन,’ बिज्ञेन्द्रकृष्णले पीडा पोख्दै भने, ‘प्रहरीले उल्टै रुप ज्योतिको पक्षमा कुरा गरिरहेको जस्तो देखिन्छ ।’
महानगरीय प्रहरी परिसरले भने रुप ज्योतिविरुद्ध थप अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको जनाएको छ । ठगी मुद्दाको विषयमा मुद्दा प्रक्रिया अगाडि बढाउन सरकारी वकिलसँग छलफल भइरहेको महानगरीय प्रहरी परिसर स्रोतले जानकारी दियो । सरकारी वकिल कार्यालयको रायअनुसार रुप ज्योतिविरुद्ध मुद्दा प्रक्रिया अगाडि बढाएर पक्राउ पूर्जि जारी गर्ने प्रहरीको भनाइ छ ।
आङ सान सु की काठमाडौँमा
एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की बिहिबार काठमाडौँ आएकी छिन् ।
नेत्री सु कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए ।
सो अवसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सलामी दिएको थियो ।
यसैबीच कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि बिहिबार नै काठमाडौँ आएका छन् । उनले बिहिबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले द्धिपक्षीय भेटवार्ता गरेका छन् । आजदेखि १७ गतेसम्म एशिया प्रशान्त शिखरसम्मेलन काठमाडौँमा हुँदैछ ।
काँग्रेस बैठक
काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । बिहिबार केहीबेर बसेसँगै सभापति शेरबहादुर देउवाले शुक्रबारसम्मका लागि बैठक स्थगतको घोषणा गरेका हुन् ।
विधान संशोधन मस्यौदामा केन्द्रित रहेको आजको बैठकमा केन्द्रीय सदस्यहरु डा रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी र प्रदिप पौडेलले आफ्नो धारणा राखेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
चैत १० गतेदेखि एसइई परीक्षा
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षा आगामी चैत १० गतेदेखि सञ्चालन गर्ने भएको छ ।
बोर्डले बिहिबार एसइई परीक्षाको तालिका सार्वजनिक गर्दै आगामी चैत १० गते आइतबार शुरु हुने परीक्षा २१ गते बिहीबारसम्म सञ्चालन हुने जानकारी दिएको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।
बोर्डका अनुसार आगामी चैत १० अनिवार्य अङ्ग्रेजी र ११ गते अनिवार्य नेपालीको परीक्षा हुनेछ । त्यस्तै चैत १२ गते बिदा, १३ गते अनिवार्य गणित, १४ गते अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृति, व्याकरण र संस्कृतिको परीक्षा छ ।
चैत १५ गते अनिवार्य सामाजिक अध्ययन र प्राविधिक धारको विषय, १६ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, अनिवार्य संस्कृत भाषा र प्राविधिक धारतर्फका विषयको परीक्षा सञ्चालन हुनेछ ।
त्यस्तै चैत १७ गते साधारण तथा संस्कृतितर्फका ऐच्छिक प्रथमपत्रका सबै विषय, वेद तथा नीतिशास्त्र र प्राविधिकतर्फको ऐच्छिक गणित, १८ गते साधारण तथा संस्कृतितर्फका ऐच्छिक द्वितीयपत्रका सबै विषय, प्राविधिकतर्फका विभिन्न विषय, १९, २० र २१ गते प्राविधिकतर्फका बाँकी विषयको परीक्षा सञ्चालन गरिनेछ ।
काङ्ग्रेस जिल्ला सभापतिहरुको बैठक
नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुको नुवाकोटको ककनीमा भएको भेला ३८ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ ।
दुई दिने सो भेलाले पार्टीको प्रस्तावित विधान मस्यौदाबारे २४ र समसामयिक राजनीतिका विषयमा १४ वटा गरी ३८ बँुदे घोषणापत्र जारी गरी सम्पन्न भएको काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए ।
घोषणापत्रमा पार्टीको जिल्ला, प्रदेश र सङ्घीय संसदीय बोर्डले क्रमशः स्थानीय, प्रदेश र सङ्घीय तहको उम्मेदवारको निर्धारण गर्ने, साधारण र क्रियाशील सदस्यता व्यवस्थित गर्ने, आरक्षितबाट मनोनित वा निर्वाचित एक पटकभन्दा हुन नपाउने लगायत बुँदाहरु समेटिएको छ ।
सेनानीसहित १७३ कारबाहीमा
नेपाली सेनामा विभिन्न पदको भर्ना प्रक्रियामा भएको अनियमितामा संलग्न १९ अधिकृतसहित १७३ जनालाई कारबाही गरिएको छ ।
विसं २०७३ र २०७५ सालमा सेनामा खुलेको भर्ना प्रक्रिया सैनिक अधिकृतसहितले व्यापक अनियमिता गरेको पुष्टि भएपछि १७३ जनालाई सैनिक ऐनअनुसार कारबाही गरिएको छ भने आरोपित चारजना अधिकृतसहित १४ जनालाई सफाई दिएको छ । त्यसैगरी प्रमुख सेनानीसँग स्पष्टीकरण लिइएको बुझिएको छ ।
अनियमितामा संलग्नबाट रु तीन करोड २२ लाख ७५ हजार बिगो भराउनसमेत सैनिक अदालतले फैसला गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
शेयर बजार
धितोपत्र बजारमा बिहिबार शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ३७ बिन्दुले घटेर एक हजार १४८ दशमलव ७० बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव २१ बिन्दुले घटेर २४४ दशमलव २३ बिन्दुमा पुगेको छ ।
स्टकका अनुसार बिहिबार कूल १६१ कम्पनीको १० लाख ६२ हजार ४३ कित्ता शेयर रु ३२ करोड २९ लाख ४७ हजार ९८३ मूल्यमा खरीद बिक्री भएको छ ।
फिफा बरियतामा नेपाल एक स्थान तल
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झरेको छ ।
बरियतामा नेपाल एक स्थान तल झर्दै १६२औँ स्थानमा पुगेको छ । गत महिना नेपाल १६१ औं स्थानमा थियो । बरियताअनुसार दक्षिण एशियामा नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत ९७ औँ स्थानमा यथावत रहेको छ भने माल्दिभ्स एक स्थान तल झर्दै १५२औँ स्थानमा रहेको छ । त्यस्तै भूटान १८६ औँ, बङ्गलादेश १९२औँ, पाकिस्तान १९९ औँ र श्रीलङ्का २०१ औँ स्थानमा रहेका छन् ।
नयाँ बरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा क्रोएसिया र पाँचौ स्थानमा इङ्ग्ल्यान्ड, पोर्चुगल छैटौं, उरुग्वे सातौं, स्विजरल्याण्ड आठौँ, स्पेन नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् ।
बेलायतको खबर
बेलायतमा सन् २०१८ को जुन महिनामा देशबाट बाहिरने भन्दा भित्रिनेको संख्या धेरै रहेको पाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार जुनमा कुल छ लाख २५ हजार जना भित्रिएका छन् भने तीन लाख ५१ हजार जना बाहिरिएका छन् ।
कार्यालयले बेलायत आउने र बस्नेहरुको संख्या पहिलाभन्दा बढ्दै गएको देखिएको पनि जनाएको छ ।
बेलायत आउनेहरुमा पढ्ने र काम गर्ने उद्देश्य बनाएकाहरु धेरै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
चीन र भारत लगायतका देशहरुबाट स्नातकोत्तर अध्ययनका लागि आउनेहरुको संख्या पहिला भन्दा अहिले १० प्रतिशतले बृद्धि भएको तथ्याङ्क कार्यालयको भनाई छ ।