२५ जेठ २०८३, सोमबार
एसिया प्यासिफिक समिट

क्रिश्चियन धर्म प्रचारक संस्थाको कार्यक्रममा ‘भीभीआईपी’ को लाइन

मंसिर १४, २०७५
क्रिश्चियन धर्म प्रचारक संस्थाको कार्यक्रममा ‘भीभीआईपी’ को लाइन

काठमाडौं–काठमाडौंमा शुक्रबारदेखि सोमबारसम्म चल्ने एसिया प्यासिफिक समिटमा सहभागि हुन विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुखको लाइन लागेको छ । सम्मेलन क्रिश्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसको आयोजनामा हुन लागेको हो । 

सम्मेलनमा छ राष्ट्र/ सरकारप्रमुख तथा उपप्रमुख, पाँच प्रथम महिला, १० पूर्वराष्ट्र प्रमुख, एक उपप्रधानमन्त्री, पाँच सभामुख तथा उपसभामुख गरी ४५ देशका एक हजार ५०० विदेशी विशेष अतिथिको सहभागिता हुने आयोजकले जनाएको छ । 

सम्मेलनमा भाग लिन तथा नेपालको औपचारिक भ्रमणका लागि विभिन्न मुलुकका राष्ट्र/सरकार प्रमुख र विशिष्ट पाहुना काठमाडौँ आउने क्रम जारी छ । 

सम्मेलनले नेपालको सफल शान्ति प्रक्रिया र नयाँ संविधान निर्माणपछिको रुपान्तरणका प्रक्रियाका बारेमा विश्वव्यापी सन्देश दिनेछ । ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधनः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयको सम्मेलनका लागि विशिष्ट अतिथिको आगमन बुधबारदेखि शुरु भएको थियो । 

सम्मेलनमा सहभागि हुनैको लागि बिहिबार म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौँ आई सकेका छन् ।  त्यस्तै टुभालुका राष्ट्रपति लाकोबा ताइया इतालेनी पनि बिहिबार नै काठमाडौँ आएका छन् । 

 सम्मेलनमा सहभागी हुन शुक्रबार नाउरुका राष्ट्रपति बारोन वाका र समोआका राष्ट्रप्रमुख अफिओगा तुइमालियालिफानो भालेटोआ सुवालौभी द्वितीय आउँदै छन् । फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेदो बुधबार नै नेपाल आइपुगेका थिए ।  

क्रिश्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसको यो कार्यक्रमलाई नेपाल सरकार तथा सङ्घीय संसद् नेपालको समेत सहयोग रहेको छ । 

सम्मेलनका लागि नेपाल सरकारले सुरक्षा प्रबन्ध गरेको छ । विशिष्ट पाहुनाको सुरक्षा र यातायातको व्यवस्थापन नेपाल सरकारले तथा सम्मेलनको अन्य व्यवस्थापन आयोजक समितिले गरेको समितिका सहसंयोजक एकनाथ ढकालले जानकारी दिए । 

सम्मेलन आयोजनाका लागि पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा समिति गठन गरिएको छ । 

युनिभर्सल पिस फेडेरेसको सन् २००५ मा कोरियाका धार्मिक नेता सन म्युङ मुनले यो संस्था स्थापना गरेका थिए । 

सन् २००५ मै यो संस्था नेपाल आइपुगेको थियो । सोही संस्थाको नेपाल अध्यक्षमा अहिले एकनाथ ढकाल अध्यक्ष छन् । उनै ढकालले सांसद नभएपनि राजनीतिक शक्ति देखाएका छन् अर्थात सरकारी संयन्त्रको प्रयोग गरेर विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुखको लाइन लगाइदिएका छन् ।

सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागि हुनेछन् । 
सम्मेलन आयोजक समितिका शिष्टाचार अधिकृत काशीनाथ खनालले विश्वका विद्यमान चुनौतीको सामना कसरी गर्न सकिन्छ भन्नेबारेमा बहस गरी निचोड निकाल्न सम्मेलन उपयोगी हुने बताए । 

नेपालको शान्ति सम्झौता र लोकतान्त्रिक आन्दोलनपछिको रुपान्तरण प्रक्रिया विश्वमै उदाहरणीय रहेका सन्दर्भमा नेपालमा सम्मेलन हुनाले त्यसको समेत सन्देश प्रवाह हुने उनको भनाई छ ।  नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको अवस्थामा सम्मेलनमा ४५ मुलुकका एक हजार पाँच सय विशिष्ट पाहुनाको सहभागिताले नेपालले प्रत्यक्ष लाभ लिन सक्ने पनि खनालले प्रतिक्रिया दिए । 

सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सहभागी मुलुकका सरकार तथा राष्ट्रप्रमुखबाट सम्बोधन हुनेछ भने सम्मेलनमा सात सत्रमा विषयगत छलफल हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्