
बर्दिवास– महोत्तरी जिल्लामा अनुमतिबेगर सञ्चालित संस्थागत ९निजी० विद्यालय छ्यास्छ्यास्ती छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानीय तहमा यस्ता विद्यालय रहेका जिल्ला शिक्षा समन्वय एकाइ कार्यालयले जनाएको छ ।
पछिल्लो समय संविधानले विद्यालय सञ्चालन, तथा व्यवस्थापनको कार्य सम्बन्धित स्थानीय तहले गर्ने किटानी व्यवस्था गरेकाले त्यस्ता विद्यालयलाई व्यवस्थित गरिनुपर्ने उक्त कार्यालयका प्रमुख शत्रुधन यादव ले बताए ।
जिल्लामा यसरी बिनाअनुमति सञ्चालनमा रहेका विद्यालयको सङ्ख्या १०० भन्दा बढी भएको अनुमान गरिए पनि सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी जानकारी गराएपछि मात्र यकिन विवरण आउने जिल्ला शिक्षा समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहको भनाइ छ ।