
बुटवल – रूपन्देहीको तिलोत्तमाकी मैनादेवी भण्डारीले अनाथ बालबालिकासँग आफ्नो दिनचर्या बिताउन थालेको झण्डै १५ वर्ष भइसक्यो ।
हाम्रो समाजमा फरक दृष्टिले हेरिने अनाथ बालबालिकालाई शिक्षा दिएर समाजमा समायोजन गराउन सकिने गरी उनी लागि परेकी छन् ।
त्यही उद्देश्यले २०५३ सालमा अनाथ तथा असहाय महिला कल्याण समाजको नामबाट जिल्ला प्रशासन र समाज कल्याण मन्त्रालयमा संस्था दर्ता गरिन् । अनाथ आश्रमको स्थापना गर्ने सानैदेखिको चाहना भएकाले २०६२ सालमा रूपन्देहीको तिलोत्तमा–६ मणिग्राममा आत्मशान्ति अनाथ आश्रमको स्थापना गरेकी हुन् । ३ जना बालबालिकाबाट शुरू गरेको आश्रममा २१ जना बालबालिका आश्रमबाट सहारा लिइसकेका छन् ।
आश्रममा सहारा लिएकामध्ये १ जनाले इलेक्ट्रिक इन्जिनियरको पढाइ सकेका छन् भने १ जनाले मेकानिकल इन्जिनियर सकिसकेका छन् । अन्य ११ जना बालिकाले मावि अध्ययन गरिरहेका छन् ।
उनले आश्रम त स्थापना गरिन् । तर आश्रम सञ्चालन गर्न उनीसँग आर्थिक स्रोत केही थिएन । एक हातमा दाल, अर्को हातमा चामल उठाउँदै उनी प्रत्येक घरघरमा डुलिन् । पेट पाल्नको लागि चामल उठाएको भनेर आरोप पनि सहनुपर्यो ।
दिनभर दाल चामल उठाउँदा पनि साँझ छाक टार्न गाह्रो पर्थ्यो । जति दुःख पाएपनि आमाबाबु गुमाएका बेसहारा बालबालिकाको सेवाले गर्दा उनले आत्मशान्ति पाएकी छन् । अहिले आश्रममा २५ जना अनाथ बालबालिका राख्न मिल्ने १० कोठा सहितको २ तले भवन बनाइएकी छन् ।
शुरूमा आश्रमको ८ हजार भाडा तिर्नुपथ्र्यो । रासनपानी, लत्ताकपडा, शिक्षादीक्षा, औषधी उपचारमा मैनादेवीले आफ्नो व्यक्तिगत २५ लाख रुपैयाँ सकेकी छन् । अन्तिममा घडेरी पनि छैन, घर पनि छैन, त्यस्तो अवस्था देखेर पतिले १५ धुर जग्गा आश्रमको नाममा पास गरिदिए । भवन बनाउनका लागि आर्थिक स्रोत नहुँदा तत्कालीन सिँचाइमन्त्री बालकृष्ण खाणबाट भवनको शिलान्यास गराइयो । तर उनीबाट आर्थिक सहयोग नहुँदा उनी निकै दुःखी बनिन् । २ वटा शौचालय र बाथरुम सहितको पाँचकोठे भवनको निर्माण चाहिँ लुम्बिनी राउन्ड टेबलले गरिदिएको हो ।
मैनादेवीका अनुसार अहिले आश्रमसँग ४० लाख रुपैयाँको अक्षयकोष छ । उनले अक्षयकोष १ करोड रुपैयाँ पुर्याउने लक्ष्य छ । त्यसको १२ हजार ब्याज र दाताको सहयोगमै बालबालिकाको पालनपोषण भएको छ । तर खर्च जुटाउन निकै मुस्किल परेको उनी बताउँछिन् । उनका अनुसार अक्षयकोष संकलन गर्न सीतादेवी बास्ताकोटीबाट धेरै सहयोग मिलेको छ ।
आश्रममा नेपालका विभिन्न ठाउँबाट आएका बालबालिका छन् । सबै बालबालिकाले मैनादेवीलाई आमा भन्ने गर्छन् । मैनादेवीको माया र घरेलु वातावरणका कारण सबै बालबालिका खुशी छन् । यतिबेला उनी अनाथ तथा असहाय महिला कल्याण समाजद्वारा सञ्चालित आत्मशान्ति अनाथ आश्रम स्थापना गरेर बाबुआमा गुमाएका सहाराविहीन अनाथ बालबालिकाका लागि गाँस, बास, कपासको व्यवस्थामा नै दिन बिताइरहेकी छन् ।
मैनादेवी भन्छिन्, ‘हामीले यस संस्थालाई यो अवस्थामा ल्याउन निकै मेहनत गर्यौं । धेरै वर्षसम्म आश्रमको आफ्नै भवन नभएका कारण बिरालोले बच्चा सारेझैं ठाउँ–ठाउँमा सार्यौं । निकै उतारचढाव तथा चुनौतीहरूलाई पार गर्दै आश्रमले अहिले आफ्नै भवन पाएको छ । तर, हाम्रो लक्ष्य निकै ठूलो छ । हामी आश्रमको भौतिक संरचना तथा अक्षयकोष वृद्धि गरी बढीभन्दा बढी अनाथ तथा असहाय महिलाहरूलाई यस आश्रममा आश्रय दिन चाहन्छौं । हाम्रो यस पवित्र कर्ममा सहयोगका लागि आमनागरिकबाट समेत सहयोगको आशा राखेका छौं । हामी दाताहरूबाट एक मुठी चामल तथा एक रुपैयाँसमेत लिन तयार छौ ।’
सानैदेखि कविता तथा चित्रकलामा विशेष रुचि राख्ने मैनादेवीको एक कविता संग्रह प्रकाशन भएको छ । उमेर छिप्पिदै जाँदा मानिसले युवाकालमा जस्तो शारीरिक कार्य त गर्न सक्दैन ।
तर बुढेसकालमा पनि मानिसले गर्न सक्ने खालका थुप्रै कार्य छन् । बुढेसकालमा मानिसका लागि उपयुक्त काम समाजसेवा हो । यसको मतलब बुढेसकालमा मात्र समाजसेवा गर्नु भनेको होइन, मानिस एक सामाजिक प्राणी भएकाले सानैदेखि सामाजिक रूपमा सक्रिय रहनुपर्छ । मानिसले सामाजिक कार्य गरेर एकातिर समाजको उत्थानमा टेवा पु¥याउन सक्छ भने अर्कोतिर आफ्नो स्वास्थ्य ठीक राख्न सक्दछ ।
आफ्नो स्वास्थ्यको ख्याल राख्दै बुढेसकालमा पनि सक्रिय सामाजिक जीवन जिउनेहरू नै धेरै बाँच्छन्, स्वस्थ जीवन जिउँछन् । मैना उमेरले अब बुढेसकाल लागेको छ । तर उनमा त्यसको कुनै महसुस छैन । उनलाई थकाई नै लाग्दैन । २०१८ सालमा बुबा भगवत शर्मा लामिछाने र आमा पेमाकुमारी लामिछानेको कोखबाट तनहुँको गजरकोट गाविसमा जन्मिएकी मैनादेवीलाई महिला, बालबालिका, समाजसेवी, बुद्धिजीवी सबैले चिन्छन् । पढाइमा सधै प्रथम हुने मैनादेवीले चाहेजति पढ्न पाइनन् ।
८ कक्षामा पढ्दा पढ्दै १४ वर्षको कलिलो उमेरमा नै स्याङजा कुवाकोट गाविस वारीकुना निवासी रामचन्द्र भण्डारीसँग वैवाहिक जीवनमा बाँधिन पुगिन् । विवाह भइसकेपछि पनि पढ्ने तीब्र इच्छा जागेर सेन्ट अप पास गरिन् र एसएलसी दिन टाढा जानुपर्ने भएकाले घरबाट एसएलसी दिन पाइनन् । त्यतिबेलाको समाजले छोरी बुहारीले धेरै पढेको देख्न नचाहने, धेरै पढायो भनेर बुबाआमाको मन मस्तिष्क नै बिग्रने गरी समाजमा कुरा काट्न थाले । त्यसपछि उनले बीचमै पढाइ छाडेर चुलोचौकोमा नै सीमित हुनुपर्यो । छोरीलाई पढाएर राखे इज्जतमा दाग लाग्ने डरले बुबाले सानैमा विवाह गरिदिए ।
समाजसेवा शुरू गर्दाको अविष्मरणीय क्षणले उनलाई अहिले पनि पिरोलिइरहन्छ । मैनादेवी ७ वर्षकी हुँदा हस्तरेखा हेर्ने एउटी महिलाले भनिन्, ‘कि तिमी समाजसेवा गरेर ठूलै मान्छे बन्ने छौ, कि बहुलाएर साडी हातमा लिएर जंगल–जंगल हिँड्ने छौ ।’ त्यसपछि ७ वर्षकी बालिकाको कलिलो दिमागमा नराम्रोसँग चोट पर्यो । खाना खान नमान्ने, रुने, टोलाउने गर्न थालिन् । आमाले सम्झाउँदै भनिन्, ‘तिमीले तिम्रो बुबाले जस्तै समाजसेवा गर, अहिलेदेखि नै समाजका लागि केही गर्दै जाउ, समाजसेवाले तिमीलाई ठूलै मान्छे बनाउने छ र तिमीलाई बहुलाएर हिँड्नुपर्ने छैन ।’
उनले त्यतिबेलाको क्षण स्मरण गर्दै भन्छिन्, ‘आमाले त्यसो भनेपछि मैले समाजसेवा गरेर नबहुलाउने अठोट गरें ।’ उनी शुरूमा आफ्नै बाबुसँग स्याङ्गजाको कैलादीघाटको मन्दिरमा गइन् । ‘मन्दिरमा भजन गाइरहेका असहाय वृद्ध आमालाई बुबाले खानपानको व्यवस्था मिलाउनुहुन्थ्यो । उहाँहरूको दुःख देखेर मलाई समाजसेवा गर्ने सोच पलायो,’ उनले भनिन् । उनका बाबुलाई गाउँमा सबैले ‘जिम्माल’ भनेर चिन्थे ।
त्यतिबेला जिम्मालले बाली बुझ्ने चलन थियो । बाबुले बाली बुझ्न सिकाए । बाबु घरमा नभएको बेला मैनादेवीले नै बाली बुझ्ने गर्थिन् । धेरै समाजसेवी घरमा जम्मा हुन्थे, बैठक बस्थे । उनलाई आनन्द लाग्थ्यो र नजिकै बसेर हेर्थिन् ।