काठमाडौँ, २० फागुन - गर्भावस्थामा नै जाँच गरी शिशुको शारीरिक अवस्थाबारे थाहा पाई जन्मजात हुने अपाङ्गताबाट बच्न सकिने चिकित्सकले बताएका छन् ।

‘ जन्मजात हुने अपाङ्गता दिवस’ का अवसरमा आज नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र करुणा फाउण्डेशनले गरेको कार्यक्रममा वरिष्ठ बालरोग विशेषज्ञ डा धनराज अर्यालले जन्मजात अपाङ्गता रोक्न गर्भमै जाँच गराउनुपर्ने बताए ।
उनले जीवित जन्मको एक तिहाइ जन्ममा जन्मजात अपाङ्गता हुने गरेको अनुसन्धानले देखाएको बताउँदै नेपालमा कती अपाङ्गता भएका शिशु जन्मिने गरेका छन् भन्ने यकिन तथ्याङ्क नभएको उल्लेख गरे ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा खेम कार्कीले विश्वमा हरेक चारदेखि पाँच मिनेटमा एक अपाङ्ग शिशुको जन्म हुने गरेको जानकारी दिँदै स्वास्थ्य मन्त्रालयले यससम्बन्धी ठोस कार्यक्रम सञ्चालन नगर्नु दुःखद् पक्ष भएको बताए ।
सरकारले सन् २०१४ देखि सन् २०१५ सम्ममा नेपालमा अपाङ्गता भएका नवजात शिशु जन्मबारे १० अस्पतालमा गरेको अध्ययनमा ८० हजार जीवित जन्मिएका शिशुमा ३३१ अपाङ्गता भएका शिशु जन्मिएको अध्ययनले देखाएको पनि बालरोग विशेषज्ञ अर्यालले जानकारी दिए । हाल १६ वटा अस्पतालको तथ्याङ्क लिएर अनुसन्धान भइरहेको पनि बताइएको छ । रासस