
काठमाडौं — एल साल्भाडोरको एक शहरका मेयर माउरिसियो भिलानोभा आफैं असल्ट राइफल लिएर शहरको सुरक्षामा हिँड्ने गरेका छन् ।
उनी अधिकारी र सैनिकसँग मिलेर बुलेटप्रूफ ज्याकेट लगाएर शहरको गश्ती गर्छन् ।
एल साल्भाडोर मध्य अमेरिकाको एक मुलुक हो जहाँको सान होस् गायाबल शहरमा भिलानोभा विगत १८ वर्षदेखि मेयर छन् ।
उक्त शहरमा एमएस१३ र ला बारियो१८ जस्ता खतरनाक आपराधिक समूहहरू छन् । भिलानोभाले दुई वर्षमा शहरलाई अपराधमुक्त बनाउने योजना बनाएका छन् ।
उनले भने, ‘बुलेटप्रूफ ज्याकेट लगाउँदा म आफूलाई सामान्य मानिस नै ठान्छु । म आफ्नो शहरलाई प्रेम गर्छु ।’
भिलानोभाले सान होसे गायाबलको अपराध दर आश्चर्यजनक रूपमा घटाएको श्रेय पाएका छन् । संसारमा सबभन्दा बढी हत्या हुने शहरहरूमा पर्छ यो । सन् २०१७ मा यहाँ प्रति एक लाख मानिसमध्ये ४५ को हत्या भएको थियो ।
सन् २०१८ मा भने अहिलेसम्म एउटा पनि हत्या भएको छैन ।
शहरमा विगतमा धेरै हत्याहिंसा हुने गरेकाले हजारौं मानिस अन्तै गएका छन् । यहाँबाट पलायन भएका केही मानिस अमेरिका प्रवेश गर्ने धुनमा मेक्सिको–अमेरिका सीमामा बसिरहेका छन् ।
शहरलाई सुरक्षित राख्नका लागि भिलानोभाले ठाउँठाउँमा सीसीटीभी क्यामरा फिट गराएका छन् । अपराधको सूचना दिनका लागि उनले ३०० सूचनादाताहरूलाई अत्याधुनिक प्रविधि उपलब्ध गराएका छन् ।
भिलानोभालाई आपराधिक समूहहरूले कैयौंपटक धम्की पनि दिइसकेका छन् । तर त्यसको उनले परवाह गरेका छैनन् ।
उनले चार सैनिकको टोलीलाई गश्तीमा पठाउने गरेका छन् । हरेक टोलीलाई गाडी र एक चालक दिइएको छ । पैदलै गश्ती गर्नुपर्दा अप्ठ्यारोमा परेका सैनिकहरू गाडी पाएर खुशी छन् ।
एजेन्सी