झापा, २० फागुन - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई सुदृढ गर्दै संविधान कार्यान्वयनका लागि मेची–काली राष्ट्रिय अभियान आयोजना गरिएको बताएका छन् ।

एमालेले शनिबारदेखि सुरु गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियान उद्घाटनका लागि यहाँ आएका पूर्वप्रधानमन्त्री ओलीले प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा संविधानसभाबाट संविधान जारी हुनबाट रोक्न खोज्ने र जारी संविधान कार्यान्वयन गर्न नदिने तत्वको भण्डाफोर गर्नुपर्ने बताए ।
सो अवसरमा एमाले वरिष्ठ नेता झलनाथ खनालले मधेसमा एमालेप्रति फैलाइएको भ्रम चिर्नका लागि पनि अभियान थाल्नुपरेको बताए । एमाले नेता माधवकुमार नेपालले आफ्नो दल नेपाली समाजको आर्थिक सामाजिक रुपान्तरण तथा सांस्कृतिक तथा भाषिक संरक्षणका पक्षमा एमाले रहेको उल्लेख गरे ।