१२ साउन २०८३, मंगलबार

मोड्रिचलाई बालून दोर ब्रेक मात्र, सकिएको छैन मेस्सी–रोनाल्डो युग

मंसिर १८, २०७५
मोड्रिचलाई बालून दोर ब्रेक मात्र, सकिएको छैन मेस्सी–रोनाल्डो युग

यो कुरा अब आधिकारिक भइसक्यो : बालून दोर क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीको कब्जामा रहेन ।

सोमवार राति लुका मोड्रिचलाई सन् २०१८ मा विश्वको सर्वोत्कृष्ट फूटबल खेलाडी घोषणा गरियो । रोनाल्डो दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भए भने मेस्सी त सन् २००६ पछि शीर्ष तीनमा समेत परेनन् । 

त्यसोभए एक युगको अन्त्य भएको हो त ? रोनाल्डो र मेस्सीको एकछात्र राज सकिएको हो ? हुन पनि रोनाल्डो अहिले ३३ वर्षका भइसके अनि मेस्सी उनीभन्दा दुई वर्ष कान्छा छन् । उनीहरूले विगत एक दशकयता फूटबलमा प्रभाव जमाएका छन् । तर कतिन्जेलसम्म उनीहरूले कीर्तिमान तोडिरहने हामी अपेक्षा गर्न सक्छौं ?

अहिले किलियन एम्बाप्पे जस्ता खेलाडीहरू उनीहरूलाई नजिकैबाट पछ्याइरहेका छन् । फ्रान्सेली खेलाडी एम्बाप्पेले थुप्रै बालून दोर जित्लान् जस्तो देखिन्छ । यही वर्ष नै त्यो पुरस्कार जित्नका लागि उनी प्रबल हकदार थिए । उनले
सन् २०१८ मा क्लब र देशका लागि ३२ गोल गरे अनि तीमध्ये चार गोल फ्रान्सले विश्वकप जित्ने क्रममा उनले बनाएका हुन् । 

उल्लेख्य कुरा त उनी भर्खर १९ वर्षका भए । उनको खेल दिनदिनै सुध्रिरहेको छ । त्यसैले रोनाल्डो वा मेस्सीलाई फेरि बालूद दोर प्राप्त गर्न उनी ठूलो बाधाका रूपमा रहेका छन् । तर अरू खेलाडी पनि छन् । 

सन् २०१७ मा नेयमार मेस्सीको छायाँबाट बाहिर निस्केर आफूलाई विश्वकै सर्वोत्कृष्ट खेलाडीका रूपमा स्थापित गर्नका लागि पेरिस सेन्ट–जर्मान गएका थिए । तर उनी लगातार दिक्कलाग्ने गरी मैदानमा चोटको नाटक गरिरहँदा
संसारकै सबभन्दा मन नपराइएका खेलाडी बनेका छन् । 

तर उनमा प्रतिभा बाँकी छ । अघिल्लो हप्ता लिभरपूलविरुद्धको खेलमा उनको प्रदर्शन सुन्दर थियो । तर उनका अन्य केही खेल लाजमर्दा थिए । 

तर नेयमारले पीएसजीलाई सन् २०१९ मा च्याम्पियन्स लीग उपाधि जिताएर त्यसपछि ब्राजिलमा हुने कोपा अमेरिका कप पनि जिताए भने चाहिँ यी प्रतिभाशाली खेलाडी अर्को वर्षको बालून दोर विजेता हुन सक्छन् । 

अनि एन्टोइन ग्रीजम्यानले सन् २०१८ मा देखाएको प्रदर्शनमा कस्तो किसिमको सुधार ल्याउलान् भनी जाँच्न गाह्रो छ । आफ्नो क्लब एट्लेटिको मड्रिडलाई युरोपा लीग जिताएका ग्रीजम्यानले नकआउट चरणका सबै खेलमा गोल गरे
अनि फाइनलमा पनि दुई गोल गरे । फ्रान्सले विश्वकप जित्नमा उनको प्रमुख भूमिका रह्यो । वास्तवमा कुनै पनि खेलाडी उनी जति गोलको भूमिका बनाउन संलग्न रहेन । तर उनी यस वर्षको बालून दोरको शीर्ष तीनमा मात्र परे । 

ग्रीजम्यानले सन् २०१९ मा एट्लेटिकोलाई च्याम्पियन्स लीग जिताउन भूमिका खेले भने बल्ल उनी अबको १२ महिनामा अहिलेको भन्दा माथिल्लो स्थानमा हुनेछन् । फाइनलमा उनको क्लब पुग्यो भने गृहमैदानको फाइदा पुग्नेछ । 

यही कुरा मोहम्मद सलाहको हकमा लागू हुन्छ । सलाहले बालून दोरको छैठौं स्थानमा मात्र रहे जबकि उनले प्रेमियर लीगको एक सीजनमा सर्वाधिक गोल (३२) गर्ने कीर्तिमान बनाएका थिए अनि च्याम्पियन्स लीगको फाइनलमा
लिभरपूललाई पुर्‍याउनका लागि १० गोलको योगदान गरेका थिए । 

सर्जिओ रामोसको ट्याकलका कारण घाइते भएर फाइनलमा पूरा खेल्न नपाएपछि इजिप्टका यी खेलाडीको बालून दोर सपना चकनाचूर भएको थियो । यो पुरस्कार जित्नका लागि टीमले जितेको उपाधिको महत्त्व हुन्छ तर त्यो नै निर्णायक कुरा भने होइन । 

हुन पनि रियाल मड्रिड र फ्रान्सका सेन्टर हाफ रफाएल भरानेले सन् २०१८ मा च्याम्पियन्स लीग र विश्वकप दुवै उपाधि उचालेका हुन् र एकै वर्षमा दुवै उपाधि जित्ने उनी इतिहासकै चौथो खेलाडी हुन् । तर उनी शीर्ष तीनमा समेत परेनन् । 

रोनाल्डो र मेस्सीको बालून दोरमा दबदबा अब अन्त्य हुन लागेको हुनसक्छ । तर उनीहरूको खेल अझै सकिएको छैन ।

रियाल मड्रिडबाट युभेन्टस सरेका रोनाल्डोले टुरिनमा गजबको प्रदर्शन गरिरहेका छन् र त्यहाँ पनि उनी लेजेन्ड बन्न लाग्दैछन् । इटालियन सेरी आका शुरूआती १४ खेलमा १० गोल गर्ने नयाँ खेलाडीको कीर्तिमान ६० वर्षअघि जोन चार्ल्सले बनाएकोमा रोनाल्डोले त्यसको बराबरी गरेका छन् । 

युभेन्टसले रोनाल्डोलाई ३० वर्ष कटेका इतिहासकै सबभन्दा महंगा खेलाडी बनाएर चार वर्षको भव्य सम्झौता गरायो किनकि उनले ३७ वर्षको हुँदासम्म पनि गोल गर्छन् भन्ने अपेक्षा क्लबले लिएको छ । उनीहरूको अपेक्षा जायज छ । 

अघिल्लो महिना म्यानचेस्टर युनाइटेडविरुद्ध गोल गरेपछि रोनाल्डोले सबैलाई आफू गजबको शारीरिक अवस्थामा रहेको देखाए । पोर्चुगल राष्ट्रिय टोलीमा उनीसँगै खेल्ने बर्नार्डो सिल्भाले कतारमा सन् २०२२ मा हुने विश्वकपमा पनि रोनाल्डो नै कप्तान हुने बताएका छन् ।

‘उनी बूढो हुँदै गएपछि सबैले उनी पहिलेको जस्तो राम्रो नखेल्ने अपेक्षा गरिरहेका थिए,’ म्यानचेस्टर सिटीका मिडफील्डरले पत्रकारहरूलाई विश्वकपमा रोनाल्डोले स्पेनविरुद्ध ह्याटट्रिक गरेपछि बताए, ‘उनी त झन् झन् राम्रो हुँदै
गएका छन् ।’ 

मेस्सीको हकमा पनि यही कुरा भन्न सकिन्छ । उनी ३१ वर्षका भए र पहिलेजस्तो बल गुडाएर बेस्सरी दगुर्न सक्दैनन् तर पहिलेको भन्दा बढी बुद्धिमत्ताका साथ बल खेल्न सक्छन् । 

बार्सिलोनामा जाभी र आन्द्रेस इनिएस्ता जस्ता राम्रो बलपास गर्ने क्षमता भएका खेलाडी नभएपछि मेस्सी क्लबको प्रमुख प्लेमेकर बनेका छन् । यसको अर्थ हो उनी आक्रमणको तानाबाना पनि आफैं बुन्छन् अनि गोल पनि गरिदिन्छन्
। वेम्ब्लीमा टोटनहमविरुद्धको खेलमा उनको यो अद्भुत क्षमता देख्न पाइएको थियो । 

वास्तवमा मेस्सी पहिलेको भन्दा बढी मोटिभेसनका साथ खेलिरहेका देखिन्छन् । यस सीजनको शुरूआतमा कप्तान बनेपछि मेस्सीले आफ्नो प्राथमिक जोड च्याम्पियन्स लीगलाई क्याम्प नाओमा फर्काउनु नै रहेको बताएका थिए ।
अनि जम्मा तीन खेलमा ६ गोल गरेर उनले गफै मात्र नदिएको प्रमाणित गरिसकेका छन् । 

अर्जेन्टिनी फूटबल टोलीबाट विश्राम लिएका मेस्सी फेरि टोलीमा नफर्केलान् भन्ने छैन । विश्रामपछि उनी ताजा र दृढनिश्चयी भएर अन्तर्राष्ट्रिय उपाधिको खडेरी अन्त्य गर्न खोज्नेछन् । ब्राजिलमा कोपा अमेरिका जितेर उनले सन् २०१४
को विश्वकपको तीतो स्मृतिलाई हटाउने अवसर पाउनेछन् । 

सारमा भन्नुपर्दा एक दशकसम्मको अभूतपूर्व दबदबापछि मेस्सी र रोनाल्डो अझै पनि व्यक्तिगत तथा समूहगत लक्ष्यका साथ अघि बढिरहेका छन् । त्यसैले एउटा पुस्तालाई नै परिभाषित गर्ने यी दुई खेलाडीले अर्को वर्षको बालून
दोरमा फेरि कब्जा जमाए भने कुनै आश्चर्यको कुरा हुने छैन । 

उनीहरूका प्रतिस्पर्धी पनि धेरै नै छन् जस्तो कि मोड्रिचले यो वर्ष प्रमाणित गरे । तर उमेर बित्दै जाँदा पनि उनीहरूको बराबरी गर्ने चाहिँ कोही पनि छैनन् । 

‘शुद्धतम फर्म भएको कुनै पनि खेलाडी छान्नुपर्दा अहिलेसम्म मेस्सी र रोनाल्डो भन्दा गतिलो कोही छैन,’ एम्बाप्पेले हालै तर्क गरे । ‘यो वर्ष पनि उनीहरू संसारका सर्वोत्कृष्ट दुई खेलाडी बने । मेस्सीले युरोपमा सबभन्दा बढी गोल गरे
भने रोनाल्डो च्याम्पियन्स लीगका शीर्ष गोलकर्ता रहे । अहिलेको क्षणमा उनीहरूभन्दा राम्रो खेल्ने कोही पनि छैन र अहिले नै उनीहरूको युग अन्त्य भयो भन्न हामी सक्दैनौं किनकि उनीहरूको भन्दा राम्रो खेल्ने अर्को कोही आयो
भने मात्र युग अन्त्य होला,’ एम्बाप्पेले थपे । 

संक्षेपमा भन्नुपर्दा मोड्रिचले मेस्सी र रोनाल्डोको एकाधिकार अन्त्य गरेका हैनन्, क्रमभंग मात्र गरेका हुन् ।

गोल डट्कममा प्रकाशित मार्क डोयलको विश्लेषणको भावानुवाद

salt training

कमेन्ट गर्नुहोस्