
काठमाडौँ– अकुत सम्पत्ति छानबिन तथा ठूला अनियमिततामा सुस्त रहेको आरोप खेप्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो दुई महिनाको अवधिमा ठूला विकास आयोजनामा भएको अनियमितताका मुद्दा अदालत पु–याएको छ ।
अख्तियारले दायर गरेको मुद्दाका प्रतिवादीमा पूर्वमन्त्री र बाहलवाला सांसद पनि छन् । १५ जनाभन्दा बढी राष्ट्रसेवक कर्मचारी अनियमिततामा तानिएका छन् ।
नयाँ नेतृत्व आएसँगै अख्तियारले रुग्ण विकास आयोजनामा भइरहेको ढिलाइ र अनियमिततालाई प्राथमिकतामा राखेको छ ।
अख्तियारले शुक्रबारमात्रै पूर्वमन्त्री एवं राप्रपा नेता विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले निर्माण गरिरहेको राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको अनियमिततामा मुद्दा दायर ग–यो ।
यस्तै, असोज १९ गते बाहलवाला सांसद हरिनारायण रौनियार संस्थापक रहेको पप्पु कन्स्ट्रक्सनविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बर्दियाको जब्दीघाट पुल निर्माण सम्पन्न नहुँदै भत्किएपछि अख्तियारले विस्तृत छानबिन गरी मुद्दा अघि बढाएको हो । मुद्दामा बाहलवाला सांसद रौनियरलाई नै विपक्षी बनाइएको छ ।
ठूला तथा रुग्ण आयोजनालाई लक्षित गरेको अख्तियारले अहिले थप १४ रुग्ण आयोजनाको विस्तृत अनुसन्धान जारी राखेको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।