१२ असार २०८३, शुक्रबार

सल्यानीलाई सरकारसँग आशैआश, पिउने पानीका लागि मुहानमै बास !

मंसिर २३, २०७५
सल्यानीलाई सरकारसँग आशैआश, पिउने पानीका लागि मुहानमै बास !

सुर्खेतसल्यान जिल्लाको वनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ का बासिन्दा पिउने पानीको चरम अभाव झेलिरहेका छन् । उक्त वडाका खानीगाउँ, मेल्टाकुरा, किम्टाकुरा र खेतगाराका बासिन्दा पानीको अभावमा कष्टकर जीवन व्यतित गरिरहेका हुन् ।

यस क्षेत्रमा १२० भन्दा बढी घरधुरी छन् । घरमा पालेका गाईबस्तुलाई पानीको जोहो गर्न त परै जाओस्, पिउने पानी समेत पाउन सकेका छैनन् ।

जताततै सुख्खा मात्र छ । खानेपानी समस्या भएको सबै नेतालाई थाहा छ, तर कसैले पनि समस्या समाधानका लागि पहल नगरेको स्थानीयको गुनासो छ । 

खेतगाराका स्थानीय नहकुल बुढाले लोकान्तरसँग भने, ‘कसैले खानेपानीको योजना पारिदिए हामीलाई सहज हुने थियो ।’ 

‘न तरकारी खेती गर्न सकिन्छ, न त बस्तुभाउ पाल्न नै,’ उनले थपे, ‘सुख्खा भएका कारण दुई घण्टा भन्दा बढी समय पानी लिन जान आउन र लाइनमा बस्नमै बित्छ ।’

बुढाका अनुसार उक्त गाउँमा २०३८ मा इन्सेकको सहयोगमा १० किलोमिटर टाढा बाँझकोटबाट पानी ल्याइएको थियो । उक्त स्थानमा पानीको मुहान सुकेका कारण विगत केही वर्षदेखि पानीको चरम अभाव छ । तर गाउँको मुनिबाट अवलबेसीको मुलाखोला बगिरहेको छ । स्थानीयहरू खोलामा बगेको पानी हेर्दै खानेपानीका पोखरीमा लाइन लाग्छन् ।

'कहिलेकाहीँ त दुई घण्टापछि मात्रै पानी भर्ने पालो आउँछ,' स्थानीय रमिता पुनले भनिन्, हामीलाई अन्य सुविधा भन्दापनि खानेपानी ल्याइदिए  जयजयकार गर्ने थियौं ।’

उनले कहिलेकाहीँ त मुहानमा पालो नआएर मुहानमा बास नै बस्नुपरेको बताइन् । म नै कतिपटक वैशाखको महिनामा खानेपानी लिन जाँदा मुहानमै बसेको छु राति १२ बजेसम्म । उनले भनिन्, तर अब प्रदेश सरकार आएको छ । सरकारले खानेपानीको समस्या समाधान गर्न सहयोग गर्ला भन्ने आशा मनमा छ ।

‘गाउँमा पानी नभएपछि किसानले तरकारी खेती पनि गर्दैनन् । उनीहरू चाहेजति बस्तुभाउ पनि पाल्दैनन्,’ रमिताले भनिन्, भैंसीलाई पानी खुवाउन सकिँदैन । तैपनि एक भैसी पालेकै छौं ।’

वडाध्यक्ष टेकबहादुर पुनले अब तत्काल खानेपानी समस्याको समाधानका लागि प्रदेश सरकार वा अन्य संस्थासँग कुराकानी गर्ने बताए । 

‘नगरपालिकासँग स्रोत छैन,’ उनले भने, मैले अन्य संस्थासँग कुरा गरेको छैन । तर अब भोलिदेखि नै खानेपानी समस्या समाधानका लागि सबैसँग कुराकानी गर्छु । ’

उनले गाउँमा सोलारबाट पानी लिफ्ट गर्ने योजना सुनाए ।

‘हामीले त्यहाँको खानेपानी समस्या समाधान गर्न नजिकै रहेको खोलाबाट पानी लिफ्ट गर्ने योजना बनाएका छौं,’ वडाअध्यक्ष पुनले भने, ‘बिजुली पुग्न अझै एक वर्ष लाग्ने भएका कारण सोलारमा कसैले सहयोग गरिदिए चाँडै वडाका जनताले खानेपानी पाउने थिए । त्यसका लागि प्रदेश सरकारसँग सहयोग गर्न आग्रह गर्नेछु ।’

salt training

कमेन्ट गर्नुहोस्