२८ जेठ २०८३, बिहीबार

सडक फराकिलो भएपछि समस्या– दुर्घटना रोक्न ‘सिक्स लेन’मा स्पीड ब्रेकर

मंसिर २३, २०७५
सडक फराकिलो भएपछि समस्या– दुर्घटना रोक्न ‘सिक्स लेन’मा स्पीड ब्रेकर

बुटवल– तीव्र गतिका कारण सडक दुर्घटना बढेपछि बुटवल–बेलहिया सिक्सलेन सडकमा स्पीड ब्रेकर राख्न थालिएको छ ।

५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सिक्सलेनको सवारी साधनको गति नियन्त्रणका लागि परीक्षणको रुपमा तिलोत्तमा नगरपालिकाको दुई स्थानमा स्पीड ब्रेकर राखेको हो । ‘अहिले ट्रायलको रुपमा राखेका छौं ।प्रभावकारी देखिएमा विस्तार गर्छौं ।’ कार्यालयका प्रहरी उपरीक्षक गणेश चन्दले भने, ‘स्पीड ब्रेकरको मुख्य उद्देश्य दुर्घटना न्यूनीकरण नै हो ।’ 

सडक फराकिलो भएसँगै तीव्र गतिमा सवारी हुइँक्याउँदा जेब्रा क्रसमा समेत दुर्घटना भएपछि तिलोत्तमा नगरपालिकाको सहयोगमा जानकीनगर र सीताराइस मिल चोक अगाडि ट्राफिक प्रहरीले स्पीड ब्रेकर राखेको हो । प्लाष्टिकका स्पीड ब्रेकरमा पानी भरेर राखिएको छ । यस प्रकारको स्पीड ब्रेकर यस क्षेत्रका लागि नयाँ भएको ट्राफिक प्रहरीको भनाइ छ । जेब्रा क्रसबाट सडक वारपार गर्नेहरुलाई सुरक्षित पार्ने तरिकाले स्पीड ब्रेकर राखिएको छ ।

कार्यालयका  प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले स्पीड ब्रेकरको बारेमा जानकारी दिन त्यस अगाडि ठाउँ–ठाउँमा बोर्ड राखिएकाले सवारी चालक सचेत हुने बताए  । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको परामर्शअनुसार स्पीड ब्रेकरका लागि सहयोग उपलब्ध गराइएको बताउँदै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले सबै सचेत भए यो प्रभावकारी हुने बताए  । सिक्सलेनमा लगातार दुर्घटना बढेपछि न्यूनीकरणका लागि सवारीको गति नियन्त्रणको निष्कर्षमा नगरपालिका पुगेको हो । 

स्पीड ब्रेकर राखिएपछि स्थानीय बासिन्दा खुशी देखिएका छन् । ‘सवारी साधन यति धेरै स्पीड चल्छन् कि जेब्रा क्रसबाट बाटो काट्न पनि गाह्रो । अब ब्रेकर राखिएपछि कम्तिमा जेब्रा क्रससम्म आइपुग्दा सवारीको गति कम हुनेछ ।’ स्थानीय एक बासिन्दाले भने । ट्राफिक प्रहरी कार्यालयका  प्रहरी नायव उपरीक्षक बुढाथोकीले स्पीड ब्रेकरको प्रभावकारीताको मूल्याङ्कन पछि अन्य स्थानमा पनि राखिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्