
काठमाडौं– नेपाली कांग्रेसमा संस्थापन इतरका नेताहरू विधान संशोधन लगायतका विषयमा साझा धारणा बनाउन भन्दै छलफलमा जुटेका छन् ।
आइतबार कांग्रेस नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको बैठकमा विधान संशोधनको विषयमा साझा धारणा बनाउने विषयमा छलफल भएको सहभागी एक नेताले बताए ।
‘विधानमा केन्द्रीय कार्यसमितिको आकार बढाउने तर पदाधिकारीको संख्या नबढाउने गरी मस्यौदा प्रस्ताव पेश गरिएको छ, जुन अस्वीकार्य छ,’ बैठकमा सहभागी एक नेताले भने । संस्थापन पक्षले पेल्दै गए त्यसको डटेर सामना गर्न आफूहरू तयार रहेको उनले बताए ।
नेता रामचन्द्र पौडेलनिकट केन्द्रीय समिति सदस्यहरूले केन्द्रीय कार्यसमितिको संख्या मात्र होइन त्यही अनुरूप पदाधिकारीको संख्या पनि बढाउनुपर्ने माग गर्दै आएका छन् । प्रस्तावित मस्यौदा फरक मतसहित प्रस्तुत गरिएको छ ।
प्रस्तावित विधान पारित गर्नको लागि यही मंसिर २८ देखि पुस ३ सम्म कांग्रेसको महासमिति बैठक बस्दैछ ।
चाक्सीबारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु डा. शेखर कोइराला, अर्जुन नरसिंह केसी, डा. मिनेन्द्र रिजाल, गगन थापा, चन्द्र भण्डारी, नवीन्द्रराज जोशी, बद्री पाण्डे लगायत नेताहरू सहभागी थिए ।